काठमाण्डौ । सहारा विकास बैंकसँगको प्राप्ति प्रक्रियालाई अनुमोदन गर्न गरिमा विकास बैंकले विशेष साधारणसभा डाकेको छ।

बैंक सञ्चालक समितिको हिजो बसेको बैठकले विशेष साधारणसभा आउँदो भदौ १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले सञ्चालक समितिबाट राखिने सहारा विकास बैंक प्राप्तिसम्बन्धी विशेष प्रस्तावका अनुमोदन गर्नेछ। प्राप्ति प्रक्रियापछि बैंकको नाम ‘गरिमा विकास बैंक लिमिटेड’ नै हुने अर्को प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

प्राप्ति प्रयोजनका लागि मूल्यांकनकर्ता प्राप्त १ः१ सेयर स्वाप रेसियो पनि सभाले अनुमोदन गर्नेछ। 

सहारा विकास बैंकलाई प्राप्ति गरेपछि गरिमा विकास बैंकको जारी तथा चुक्तापुँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५.०८ रुपैयाँ हुनेछ। हाल गरिमाको ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार ५०१.०८ रुपैयाँ र सहाराको २७ करोड २२ लाख ७० हजार ६०४ रुपैयाँ चुक्तापुँजी रहेको छ। 

प्राप्ति प्रयोजनका लागि नियामक निकायबाट लिनुपर्ने अनुमति, स्वीकृति तथा एकीकृत कारोबार र सेयर कारोबार सुचारुजस्ता सम्पूर्ण क्रियाकलाप गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

विशेष साधारणसभा प्रयोजनार्थ गरिमा विकास बैंकले भदौ ९ गतेदेखि भदौ १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ भदौ ८ गतेसम्म कायम सेयरधनीहरुमात्र सभा भाग लिन योग्य हुनेछन्।