काठमाण्डौ । साहस उर्जा लिमीटेडले १ अर्ब ५ करोड रुपैयाँ बराबरको साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको छ । 

कम्पनीले जारी पूँजी ३ अर्ब ५० करोडको ३० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर आयोजना प्रभावित क्षेत्रका नागरिक, सामूहिक लगानीकोष, कम्पनीका कर्मचारी र सर्वसाधारणलाई जारी गर्ने भएको हो । 

आइपीओ जारी गर्ने उद्देश्यले कम्पनीले सेयरको प्रत्याभूति व्यवस्थापनका लागि नागरिक लगानीकोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ । सो सम्बन्धमा आज एक सम्झौता भएको छ । 

नागरिक कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र साहस उर्जा लिमीटेडको तर्फबाट संचालक समितिका अध्यक्ष हिमप्रसाद पाठकले प्रत्याभूतिकर्ता नियुक्ति सम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर गरे । 

कम्पनीले निकट भविष्यमै १०० रुपैयाँ अंकित दरका १ करोड ५ लाख कित्ता सेयरको सार्वजनिक निश्कासन गर्ने योजना बनाएको छ । 

जलविद्युत आयोजनामा लगानी गर्ने उद्देश्यले सहाज उर्जा २०७० सालमा स्थापना भएको पब्लिक लिमीटेड कम्पनी हो । यो कम्पनीले सोलु खोला(दूधकोशी) जलविद्युत परियोजना निर्माण गरिरहेको छ । निर्माण अन्तिम चरणमा छ ।