काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला मुद्दति धमाका योजना सार्वजनिक गरेको छ। 

ग्राहकले यो योजना न्यूनतम मौज्दात रु. १० हजारबाट सुरु गर्न सक्नेछन्। यस मुद्दति योजनाअन्तर्गत बचत रकमअनुसार ४ गुणा, ५ गुणा र १० गुणासम्म प्रतिफल प्राप्त गर्न सकिनेछ। 

ग्राहकले यस योजनाअन्तर्गत आफ्नो बचत रकमको १२ वर्ष २ महिना १४ दिनमा ४ गुणा रकम÷प्रतिफल प्राप्त गर्न सक्नेछन् भने सोहीअनुसार १४ वर्ष २ महिना १ दिन र २० वर्ष ३ महिना १४ दिनमा क्रमशः ५ गुणा र १० गुणा रकम÷प्रतिफल प्राप्त गर्न सक्नेछन्।

यस योजनाअन्तर्गतका खातामा ग्राहकले कर्जाको सुविधा प्राप्त गर्न सक्नेसमेत व्यवस्था गरिएको छ। ग्राहकले आफ्नो बचत रकममा कर्जा लिने वा दिने दिनसम्म पुँजीकरण गरिएको ब्याज रकमसमेत जोडेर हुन आउने रकमको ८० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। 

यस योजनामा सहभागी हुन चाहने ग्राहकले मुलुकभर रहेका ११२ शाखा कार्यालयमार्फत सुलभ तरिकाले खाता खोली रकम वचत गर्न तथा कर्जा सुविधा लिन सक्नेछन्। यो योजना सीमित अवधिका लागिमात्र सञ्चालन गरिएको बैंकले जनाएको छ। 

यस योजनाअन्तर्गत ग्राहकले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ। 

आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा बैंकले मुलुकभर ११२ शाखा कार्यालय, ३२ एटीएमका साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै बैंकिङ सुविधा प्रदान गर्दै आएको छ।