काठमाण्डौ । चौतर्फी खारेजीको माग भए पनि अर्थमन्त्रीले सांसद विकास कोषलाई खारेज गर्न सकेनन् । सांसदहरुलाई नबिच्काउन सांसद विकास कोष यथावत राखे पनि यसको बजेट भने घटाएका छन्। 

बिहीबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. खतिवडाले यस्तो घोषणा गरेका हुन् । 

यो कोष खारेज गरी यसको नाममा विनियोजन बजेट कोरोना नियन्त्रण र रोकथाममा लगाउन चौतर्फी दवाब सिर्जना भएको थियो । 

तर, अर्थमन्त्रीले यो कार्यक्रम खारेज नगरी यसको बजेट केही घटाएका हुन् । 

चालु आर्थिक वर्षमा संघीय संसदको प्रत्येक निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँको दरले बजेट विनियोजन गरेको छ । तर, अब यसलाई घटाएर अर्थमन्त्रीले रु. ४ करोड बनाएका हुन् । 

यसरी आगामी आर्थिक वर्षका सांसद विकास कोषका लागि कुल ६ अर्ब ६० करोड बजेट विनियोजन गरिएको छ । 

सरकारले चालु आर्थिक वर्षमा यस कार्यक्रमका लागि ९ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको थियो ।