काठमाण्डौ । साइकलमा फलफूल बोकेर बिक्री गर्दै हिँड्ने बाराका सुल्तान मियाँको विगत ३ दिनदेखिको हुलिया केही बदलिएको छ । 

अरुबेला साइकलमा फलफूल राखेर गोजीभरि अटीनअटी खुद्रा पैसा बोकेर हिँड्ने उनको गोजी केही सहज र खुकुलो भएको छ भने घाँटी र साइकलको अगाडिपट्टि प्लेकार्ड झुण्ड्याएका छन् । कसैले उनको साइकलबाट फलफूल किन्यो भने नगद लिँदैनन् र प्लेकार्डमा रहेको क्यूआर कोड देखाउँछन् र फोन पेबाट फलफूलको पैसा भुक्तानी गर्न आग्रह गर्छन् । स्मार्ट ग्राहकले उनको आग्रहअनुसार क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्छन् र भुक्तानी आफ्नो खातामा आए/नआएको निश्चित गरी उनी ग्राहकलाई धन्यवाद दिन पछाडि पर्दैनन् । 

नवील बैंकको क्यूआर कोर्ड प्रयोग गरी विजिनेश गर्न थालेपछि मियाँको आत्माविश्वासको स्तर समेत बढेको देखियो । 'क्यूआर कोडबाट भुक्तानी गर्ने यो सिस्टमका कारण चोक र गल्ली चाहर्दै व्यापार गर्ने हामीजस्ता सामान्य व्यापारीलाई काइदा भएको छ ।' मियाँले पत्रकारहरुसँग भने-'पहिला पहिला टोलहरुमा फटाहाहरुले हाम्रो पैसा लुटिदिन्थे, तर अब ग्राहकले गरेको भुक्तानी सोझै बैंक खातामा गएपछि पैसा लुटिने पीर नै सकियो, आनन्द भयो ।' 

भारतको बिहार घर भएका अर्का फलफूल व्यापारी प्रमोद साह पनि नयाँ प्रविधिको प्रयोगबाट मख्ख छन् ।

उनको स्मार्ट फोन छैन, सामान्य मोवाइल सेट मात्र छ । तर, क्यूआर कोडबाट भएको भुक्तानीको मोवाइलमा म्यासेज समेत आउने भएकोले ग्राहकले कोड स्क्यान गरेपछि भुक्तानी आए नआएको म्यासेज बक्समा चेक गर्छन् । उनलाई पनि खरीदबिक्रीमा नगद नै नचाहिने यो प्रविधि खुबै मन परेको रहेछ । 'हामीजस्ता साना व्यापारीलाई साह्रै ढुक्क भएको छ ।' उनले भने-'बिक्री गरेको पैसा हराउने, लुटिने डर नै नभएपछि धेरै ढुक्क हुने रहेछ ।' 

पछिल्लो समय नगदरहित कारोबार निर्माणका लागि क्यूआर कोडको सेवा बिस्तारमा सहयोग गरिरहेको राष्ट्रबैंकका अधिकारीहरु पनि साइकलमा फलफूल व्यापार गर्नेहरुले समेत आधुनिक भुक्तानी प्रणाली प्रयोग गर्न थालेपछि मख्ख छन् । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले साइकलमा व्यापार गर्नेले समेत क्यूआर कोडको सेवा लिएको देखेर खुशी प्रकट गरे र मियाँसँग त सेल्फी नै खिचे । 

गभर्नर अधिकारी नवील बैंक लिमीटेडले काठमाण्डौको कुलेश्वरमा थोक फलफूल बिक्री केन्द्रबाट सुरुवात गर्न लागेको क्यूआर कोडबाट भुक्तानी सेवाको उद्घाटन गर्न शुक्रबार बिहान त्यहाँ पुगेका थिए । उनले साइकलमा फलफूलको व्यापार गर्ने मियाँबाट १०० रुपैयाँ र साहबाट ९० रुपैयाँ केरा क्यूआर कोड स्क्यान गरी खरीद गरेका थिए।

त्यसअघि औपचारिक कार्यक्रम उद्घाटनको क्रममा बोल्दै गभर्नर अधिकारीले आफूहरु नगदरहित समाज निर्माणमा लागेको र यसमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए । कोभिड १९ को संक्रमणको जोखिम पैसाको नोटहरुबाट हुनसक्ने संभावना रहेकोले अहिलेको अवस्थामा क्यूआर कोडबाट भुक्तानी जस्ता अत्याधुनिक पेमेन्ट गेट्वेका सेवाहरु सान्दर्भिक रहेका बताए । ‘म पैसामा हस्ताक्षर गर्ने गभर्नर हुँ, मलाई त बढीभन्दा बढी पैसामा हस्ताक्षर गर्न पाए हुन्थ्यो जस्तो लाग्नुपर्ने हो, तर अहिले मलाई त्यस्तो लागेको छैन ।’ उनले भने–‘कोभिडमा मात्र होइन, अब हाम्रो कारोबार डिजीटल्ली हुनुपर्छ । सकेसम्म कम नगद प्रयोग गरी हामीले हाम्रा दैनिक कारोबारहरु संचालन गर्नुपर्छ ।’ 

त्यसअघि उनले बल्खुस्थित तरकारी बजारमा एनएमबी बैंकको क्यूआर कोड सेवाको समेत उद्घाटन गरेका थिए । उनले त्यहाँ पनि यसको महत्वको विषयमा जानकारी गराएका थिए । तरकारी व्यापारीहरुले बिक्री गरेको पैसा गल्लामा राख्नुपर्ने, धेरै ठूलो व्यापार गर्नेले पैसाको व्यवस्थापनकै लागि क्यासियर राख्नुपर्ने जस्ता झञ्झट यो प्रविधिको प्रयोगबाट हट्ने भन्दै यसले पारदर्शी कारोबारलाई समेत प्रोत्साहन गर्ने बताएका थिए । 

बल्खुस्थित तरकारी बजारका व्यापारीहरु समेत एनएमबी बैंकको क्यूआर कोड सेवा प्रयोग गर्न थालेकोमा मख्ख देखिन्थे ।