काठमाण्डौ । साइबर हमलाका कारण सन् २०२० मा रुसका कम्पनी तथा नागरिकहरुले ४९ बिलियन अमेरिकी डलर (३.६ ट्रिलियन रुबेल) बराबरको घाटा व्यहोरेका छन्। सरकारद्वारा नियन्त्रित रुसको सबैभन्दा ठूलो बैंक स्बेर बैंकले हालै प्रकाशित गरेको रिपोर्टमा यस्तो देखिएको हो।

छाया अर्थतन्त्रलाई नियन्त्रण गर्न रुसले आफ्ना नागरिकलाई नगदको प्रयोग कम गर्न र बैंकको कार्डको उपयोग बढाउन प्रोत्साहित गर्दै आइरहेको छ। तर रुसको आन्तरिक मामिला मन्त्रालयका अनुसार यो वर्ष बैंकको कार्डसँग सम्बन्धित अपराधहरुको संख्या ५०० प्रतिशतले वृद्धि भएको छ। 

स्बेर बैंकका डेपुटी चेयर म्यान स्ट्यानस्लेभ कुजनेटसोधले रोयटर्सलाई दिएका अन्तर्वार्तामा रुसमा भएका साइबर हमलामा व्यक्तिगत व्यवसाय र आम रुसी नागरिकहरुलाई मुख्य सिकार बनाइएको बताएका छन्। रुसमा व्यक्तिगत व्यवसाय एकदमै जोखिमपूर्ण अवस्थामा रहेको र ग्राहकका अकाउन्टका वित्तीय डेटाहरुदेखि लिएर अन्य सबै डकुमेन्ट ह्याकरहरुको निशानामा रहेको उनले बताएका छन्। यसका साथै रुसमा २३ लाख डार्कनेट अकाउन्ट सञ्चालनमा रहेको र तिनले चोरिएका डेटा बिक्री गर्ने गरेको कुजनेटस्लेभले बताएका छन्। 

रसियनभाषी साइबर अपराधीहरुले जर्मनी, युक्रेन, भेनेजुएला र रुसबाट समेत साइबर हमला गर्ने गरेका छन्। रुसका अन्य बैंकको तुलनामा सरकारद्वारा नियन्त्रित स्बेर बैंक यस्ता साइबर हमलाबाट धेरै सुरक्षित रहेको छ। स्बेर बैंकले आईटी सुरक्षा तथा साइबर डिफेन्सका लागि आफ्नो छुट्टै साइबर सेक्युरिटी युनिट (बीआई.जोन) सञ्चालन गरिरहेको छ। 

रुसको केन्द्रीय बैंकले गत वर्ष देशभर करिब ५ लाख अनाधिकृत बैंक खाता सञ्चालनमा रहेका र व्यक्तिगत तथा कर्पाेरेट बैंक अकाउन्टहरुबाट ६.४ बिलियन रुबेल चोरी भएको जनाएको थियो। – एजेन्सी