काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले आगामी साउन १६ गतेदेखि हकप्रद सेयरको बिक्री खुल्ला गर्ने भएको छ । 

यो बैंकले चुक्तापूँजीको १० बराबर ४(४० प्रतिशत)को अनुपातमा हकप्रद निश्कासन गर्न लागेको हो । 

साउन १६ गतेदेखि खुल्ने हकप्रदमा भदौ १८ गतेसम्म आवेदन दिनसकिने बताइएको छ । 

ह्कप्रदका लागि यो बैंकले असार २७ गतेलाई बुक क्लोजको मिति तय गरेको थियो । यसको अर्थ असार २६ गतेसम्म सेञ्चुरी कमर्सियल बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदको आवेदन भर्न पाउनेछन् । 

यो बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल १ अर्ब ८८ करोड बराबरको हकप्रद निश्कासन गर्नेछ । हकप्रद सेञ्चुरी बैंक, यसमा गाभिएको अरनिको र इन्नोभेटिभ डेभलपमेन्ट बैंकका सेयरधनीले मात्र भर्न पाउनेछन् । शनिवारदेखि एकीकृत कारोबार सुरु हुन लागेको सगरमाथा फाइनान्सका सेयरधनीले भने यो हकप्रद भर्न पाउने छैनन् ।

सिभिल क्यापिटल मार्केट लिमीटेड सेञ्चुरीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धक रहेको छ । 

इच्छुक सेयरधनीले काठमाण्डौको सिटीसी मलस्थित सिभिल क्यापिटल मार्केट लिमीटेडको मुख्य कार्यालय तथा सेञ्चुरी बैंकका सबै शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।

सेञ्चुरी बैंकले चालुु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ३१ करोड ९ लाख खूद नाफा आर्जन गरेको थियो ।