काठमाण्डौ । नेपाल टेलिकमले प्याकेजबाहेकको साधारण महसुल दरअन्तर्गतका भ्वाइस र डाटा, पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महसुल ३ प्रतिशतले घटाउने भएको छ । 

टेलिकमले विभिन्न सेवाहरुको महसुलमा साउन १ गतेदेखि नयाँदर लागू गर्न लागेको हो । 

नेपाल सरकारले हाल लिदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई २०७९ साउन १ देखि लागू हुने गरी १० प्रतिशत कायम गरेको छ । यहीकारण महसुलमा समेत टेलिकमले ३ प्रतिशत मूल्य घटाउने भएको हो । 

यसैगरी साउन १ देखि समर अफरअन्तर्गत विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइएको टेलिकमले जनाएको छ । पहिले उपलब्ध सबै अफरहरुलाई अब उही मूल्यमा थप डाटा तथा भ्वाइस मिनेट अफरका साथ उपलब्ध गराइएको छ । त्यसैगरी कतिपय अफरलाई परिमार्जन गरिएको छ भने केही नयाँ अफर समेत थप गरिएका छन् । 

यसअनुसार केही अफरहरुमा उही मूल्यमा पहिलेभन्दा ४ गुणासम्म बढी डाटा भोल्युम थप भएका छन् । यसबाहेकका डाटा प्याकेज, भ्वाइस प्याकेज, एकदिने तथा एक मासिक प्याकेजहरुमा समेत सोहीअनुसारको रिसोर्स थप गरी आकर्षक बनाइएको छ । उदाहरणका लागि सीयूजी १००० मा १० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ४० जीबी प्रदान गरिएको छ । 

त्यस्तै सीयूजी १५०० मा २० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ८० जीबी प्रदान गरिएको छ । 

यसैगरी पोस्टपेड, प्रिपेडलगायतका अन्य विभिन्न अफरहरुमा पनि थप रिसोर्स प्रदान गरिएको छ ।