काठमाण्डौ । अवैध रुपमा नेपाल भित्रिएका मोबाइल साउन १ गतेदेखि नचल्ने भएका छन्। 

नेपाल दूरसञ्चार प्राधिकरणले कडाइका साथ यो नियम लागू गर्न लागेको छ। आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र राजस्व छलेर नेपाल भित्रिने मोबाइललाई नियन्त्रण गर्न यो व्यवस्था लागू गर्न लागिएको प्राधिकरणले जनाएको छ। 

अब विदेशबाट सीधै खरिद गरेर ल्याइएका मोबाइललाई प्राधिकरणको अनलाइनमा रजिस्टर गरेपछि मात्रै सञ्चालनमा आउनेछन्। त्यसैले विदेशबाट निजी प्रयोगका लागि वा उपहार पाएर मोबाइल भित्र्याउनेहरुले प्राधिकरणमा रजिस्ट्रर गर्नुपर्नेछ। 

हाल चलिरहेका मोबाइललाई भने यो नियम लागू हुने छैन। 

नेपालमै खरिद गरिएका मोबाइलमा नेपाल भित्र्याउने कम्पनीले रजिस्ट्रर गर्ने हुँदा त्यसको सबै जानकारी प्राधिकरणसँग हुनेछ। तर, बाहिरबाट ल्याइएका मोबाइलको कुनै जानकारी नहुँदा त्यस्ता मोबाइलबाट आपराधिक क्रियाकलापसमेत हुने गरेको र त्यसको नियन्त्रणका लागि मोबाइल रजिस्ट्री अनिवार्य गरिएको प्राधिकरणले स्पष्ट पारेको छ।