काठमाण्डौ । मर्जरपछि हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार आउँदो साउन १ गते आइतबारदेखि हुने भएको छ। 

मर्जरपछि हिमालयन एभरेष्ट इन्स्यारेन्स लिमिटेडको नामबाट एकीकृत निर्जीवन बीमा सेवा कारोबार सञ्चालन हुने भएको हो। 

यी दुवै कम्पनीको गत असार २ गते सम्पन्न विशेष साधारणसभाबाट मर्जरसम्बन्धी सम्पूर्ण प्रक्रिया पारित भएका थिए। बीमा समितिले यी दुवै कम्पनीको मर्जरलाई गत असार ८ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कम्पनी रजिस्ट्रारको कार्यालयबाट गाभ्ने र गाभिने संस्थाको मर्जर हुने अन्तिम दिनसम्म कायम रहने सम्पूर्ण सम्पत्ति र दायित्वहरु नयाँ बन्ने संस्था हिमालयन एभरेष्ट इन्स्योरेन्सले सकार्ने गरी गत असार २३ गते स्वीकृति प्राप्त भएको थियो। 

यी दुवै बीमा कम्पनीबीच गत वैशाख २२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। हिमालयन जनरल र एभरेष्ट १ः१ सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्। 

मर्जरपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्नेछ। चालु आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर दिएपछि तोकिएको पुँजी पुग्नेछ।