काठमाण्डौ । साढे २ महिनापछि विशाल बजार कम्पनी लिमिटेडको धितोपत्र दोस्रो बजारमा सेयर कारोबार फुकुवा भएको छ। अब भोलि बिहीबारबाट यो कम्पनीको सेयर कारोबारमा आउने भएको छ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा भएको व्यवस्थाअनुसार कम्पनीले आर्थिक वर्ष २०७३/७४ देखि २०७६/७७ सम्मका वार्षिक प्रतिवेदन तथा अन्य वित्तीय विवरण पेस नगरेको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २०७७ माघ १८ गतेको निर्णयबाट यो कम्पनीको सेयर कारोबार रोक्का राखेको थियो। कम्पनीले गत वैशाख ३ गते नेप्सेमा पत्र पठाउँदै कम्पनीको ती सबै आर्थिक वर्षको लेखा परीक्षण हुन बाँकी रहेको वित्तीय प्रतिवेदन र चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण र अन्य अपरिष्कृत त्रैमासिक तथा अर्धवार्षिक वित्तीय विवरण नेप्सेको कम्पनी लग इनबाट नेप्सेको वेबसाइटमा लगानीकर्ता र सरोकारवाला निकायहरुले अध्ययन गर्न सक्ने गरी कम्पनीको वार्षिक वित्तीय विवरणहरु अप लोड गरेको थियो। 

यसका साथै कम्पनीले सञ्चालक समितिको निर्णय भएपछि यथाशीघ्र साधारणसभा सम्पन्न गर्ने प्रतिबद्धता गर्दै सेयर कारोबार फुकुवा गरिदिन नेप्सेलाई आग्रह गरेको थियो। त्यसपछि नेप्सेले सचेत गराउँदै यो कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको हो।