काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातवटै प्रदेशमा अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। 

कम्पनीले कोशी प्रदेशको बिर्तामोड र इटहरी, मधेश प्रदेशको वीरगन्ज र मिर्चैया, बागमती प्रदेशको नारायणघाट, भक्तपुर र काठमाण्डौ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल र नेपालगन्ज, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको टीकापुर र अत्तरिया गरी कुल १३ वटा स्थानमा कार्यक्रमको आयोजना गरी ६ हजारभन्दा बढी अभिकर्तालाई तालिम प्रदान गर्नुका साथै हरेक शाखा तथा उपशाखाबाट उत्कृष्ट व्यवसाय गर्ने करिब १ हजार अभिकर्तालाई सम्मान गरिएको छ।  

२०८० साल वैशाख ७ गते विर्तामोडको सेन्ट्रल पोइन्ट होटल एंड पार्टी प्यालेसमा आयोजित कार्यक्रममा ४०० जना, वैशाख ९ गते इटहरीको दुर्गा पार्टी प्यालेसमा ४५० जना, वैशाख १४ गते मिर्चैयाको राम जानकी होटेल एन्ड पार्टी प्यालेसमा ५७० जना, वैशाख १६ गते वीरगन्जको होटेल शाह दरबारमा ४५० जना, वैशाख १८ गते नारायणघाटको सीएमटी रिसोर्टमा ४६० जना, वैशाख २२ गते भक्तपुरको नमस्ते ब्यांक्वेटमा ५०० जना, जेठ ५ गते काठमाण्डौको अनमोल ब्यांक्वेटमा ७०० जना, जेठ ९ गते सुर्खेतको सिद्धार्थ सन्नी रिसोर्टमा ३५० जना, जेठ ११ गते नेपालगन्जको सुनाखरी रेस्टुरेन्टमा ३४० जना, जेठ १३ गते टीकापुरको होटेल सिद्धार्थमा ३६० जना, जेठ १५ गते अत्तरियाको होटल नमस्तेमा ५५० जना, जेठ २० गते बुटवलको सिद्धार्थ होटलमा ५५० जना र जेठ २२ गते पोखराको सिटी स्क्वायरमा ४०० जना गरी कुल ६ हजार ८० जना अभिकर्ताहरुले तालिम प्राप्त गरेका छन्। 

जेठ २२ गते पोखरामा आयोजित कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्य कमलेशकुमार अग्रवाल र विमल प्रसाद ढकालको उपस्थिति थियो। कार्यक्रममा अग्रवालले गण्डकी प्रदेश विभिन्न आर्थिक सूचांकहरुमा अग्रपंक्तिमा रहेको हुनाले यस क्षेत्रमा बीमा व्यवसायको विस्तार गर्न प्रचूर सम्भावना रहेका बताए। सम्पूर्ण अभिकर्तालाई यस अवसरको अधिकतम सीप र ज्ञान हासिल गरी बीमा व्यवसाय विस्तार गर्न उनले आग्रह गरे। 

यसका साथै कम्पनीले पोखराको न्युरोडस्थित आफ्नै सुविधा सम्पन्न भवनबाट गण्डकी प्रदेशको प्रादेशिक कार्यालय र पोखरा शाखा कार्यालय सञ्चालनमा ल्याएको अग्रवालले बताए। यसबाट कम्पनीको विश्वसनियता बढी बीमा बजारको विकाशमा टेवा पुग्ने उनको भनाइ थियो। 

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीका रुपमा नेपालको जनसंख्याको करिब १० प्रतिशत जनतालाई जीवन बीमासम्बन्धी सेवा प्रवाह गर्दै नेपाली जीवन बीमाको क्षेत्रमा विभिन्न सूचकांकहरुको आधारमा अब्बल रहँदै आफूलाई नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीका रुपमा नेपाल लाइफ स्थापित रहेको अग्रवालले बताए। 

अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रमहरुमा उपस्थित अभिकर्तालाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले अभिकर्ताहरुको क्षमताको विकास गर्ने हेतुले यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए। यस किसिमको कार्यक्रमले बीमा क्षेत्रमा भएका नवीनतम प्रयोगसँग साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी सीपहरुलाई थप निखार्न महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको उनले बताए। 

आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोवल अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पराजुलीले व्यक्त गरे। कम्पनीले अभिकर्ताहरुको प्रोत्साहनका निम्ति विभिन्न योजनाहरु सार्वजनिक गर्दै आएको र यस वर्ष पनि आकर्षक योजनाहरु सार्वजनिक भइसकेको हुनाले योजनामा सामेल हुन सम्पूर्ण अभिकर्तालाई उनले अनुरोधसमेत गरे। 

कम्पनीलाई थप सशक्त बनाउनका लागि नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाउँदो योजना ल्याउने पराजुलीले बताए। यसका साथै सम्पूर्ण सरोकारवालाहरुको अपेक्षालाई पूरा गर्न कम्पनी दत्तचित्त भएर लागिपर्ने उनले बताए। 

यसै वर्ष कम्पनीले भारतको मुम्बईबाट जीवन बीमाका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता राजेश सतोष्कार र विजय कुमार झाद्वारा आफ्ना अभिकर्ताहरुलाई तालिम प्रदान गरेको पनि पराजुलीले जानकारी गराए। 

कार्यक्रममा नेसनल सेल्स हेड उमापति पोखरेलले अभिकर्ताले बीमा व्यवसायमा सफलता प्राप्त गर्नका खातिर आफू आबद्ध कम्पनीका बारेमा पूर्ण जानकारी, आफूले गरेको पेसाका बारेमा कानुनी वैधता तथा कम्पनीले बजारमा ल्याएको बीमा योजनाहरुका बारेमा पूर्ण जानकारी राख्नुपर्नेमा जोड दिए। बीमा बजारको बजारीकरणको सम्बन्धमा बृहत प्रस्तुतीकरण दिएका पोखरेलले सफल अभिकर्तामा हुनुपर्ने गुणहरुका बारेमा समेत प्रकाश पारेका थिए। 

अभिकर्तालाई प्रशिक्षण दिने क्रममा कम्पनीका तालिम विभाग प्रमुख रोजेश बस्नेतले बीमा अभिकर्ता पेसा ठूलो लगानी र उच्च शिक्षा नहुँदा पनि राम्रो आम्दानी गर्नका लागि प्रचूर सम्भावना भएको क्षेत्र हुनाले आम्दानी र व्यवसायभन्दा माथि उठेर बीमा अभिकर्ताका रुपमा सामाजिक र मानवीय धर्मका रुपमा पेसालाई अंगिकार गर्न प्रेरित गरे। उनले यसमा थप प्रकाश पर्दै बीमा अभिकर्ता भनेको आर्थिक सुरक्षाकर्मी र बचतको अभियन्ता पनि भएकाले सबैलाई यसमा हातेमालो गर्दै अगाडि बढ्नका निम्ति अपिल गरे।