काठमाण्डौ। नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने गराउने मुख्य उद्देश्य तथा आम नागरिकमाझ डिजिटल बैंकिङ सेवाको पहुँच विस्तार गर्ने लक्ष्यसहित आक्रामक रुपमा लागिरहेको माछापुच्छ्रे बैंकले देशका सातै प्रदेशमा क्यूआर कोड सेवा सुरुआत गरेको छ।  

गत आइतबार नेपाल राष्ट्र बैंक नेपालगन्जका निर्देशक गोविन्दप्रसाद नागिलाले कर्णाली प्रदेशको सुर्खेतस्थित कृषि बजार सुर्खेत, पुरानो तरकारी बजार हटियालाइन, अल्का यातायात, नमुना हङकङ बजार हटियालाइन गरी ४ स्थानमा क्यूआर कोड सेवाको सुरुआत गरेका छन्। त्यसैगरी नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने तथा ग्राहक तथा व्यापारीलाई सहज डिजिटल बैंकिङ सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ बैंकले आज मंगलबार  राजधानीको मनोहरास्थित तरकारी बजारमा नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख भुवन कँडेलको प्रमुख आतित्थ्तामा व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको छ। यसअघि बैंकले विभिन्न समयमा अन्य प्रदेशमा औपचारिक कार्यक्रम गरी क्यूआर कोड सेवा सुरु गरेको थियो।

आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकका साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्नेलगायतका थुपै सुविधाका कारणले गर्दा क्यूआर कोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ। यही कुरालाई मध्यनजर गर्दै बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ।  

बैंकले देशका विभिन्न स्थानमा रहेका तरकारी बजार, हाटबजार, होमस्टे, मन्दिर, रेस्टुरेन्ट, कस्मेटिक पसलहरु, यातायात सेवाहरुलगायतका विभिन्न व्यसायीहरुलाई प्रदान गरेको क्यूआर कोड सेवाले आमग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको छ। डिजिटल बैंकिङ सेवाको पहुँच नपुगेका अन्य धेरै स्थान र क्षेत्रमा पनि बैंकले आक्रामक रुपमा सेवा विस्तार गरिरहेको छ र आगामी दिनमा पनि यो क्रमलाई निरन्तरता दिँदै जाने जनाएको छ।