काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो अवस्थाबाट नेपालको स्वास्थ्य संरचनाले धान्नै नसक्ने गरी कोरोना संक्रमित बढ्न सक्ने संकेत गरेको छ। 

आज आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यस्तो संकेत गरेका हुन्। ‘हरेक ४ दिनमा कोरोना संक्रमण दर दोब्बर बन्दै गइरहेको छ’, उनले भने, ‘यस्तै गतिमा संक्रमित बढ्दै जाने हो भने नेपालको स्वास्थ्य संरचनाले धान्नै नसक्ने संकेत देखिएको छ। त्यसैले स्वास्थ्य मापदण्ड पालनामा ध्यान दिनुपर्छ।’ 

गौतमले अत्यन्त जरुरी नपरी घरबाहिर ननिस्कन, सभा, सम्मेलन, मिटिङ, जात्रा नगर्न र नागरिकको जीवनरक्षा गर्न सघाउन पनि आग्रह गरे। 

मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो सात दिनमा नेपालमा संक्रमण दर ४५.६१ प्रतिशतले बढेको छ। गत वैशाख २ गते नेपालमा पीसीआर परीक्षण गर्दा संक्रमण दर १३.६५ रहेको थियो। बुधबार यो बढेर २५.१० प्रतिशत पुगेको छ। अर्थात् हरेक १०० जनामा पीसीआर परीक्षण गर्दा २५ जना बढीमा संक्रमण पुष्टि भइरहेको छ।

पछिल्लो २४ घन्टामात्रै देशभर थप २ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थप १० जनाको मृत्यु भएको छ। २८७ जना संक्रमणमुक्त भएका छन्।