काठमाण्डौ। आन्तरिक बाह्य (अन्तर्राष्ट्रिय) उडान गर्ने एयरलाइन्स कम्पनीहरुले कर छली गरी यात्रु ओसारपसार गरिरहेको पाइएको छ। 

महालेखापरीक्षकको कार्यालयले गत शुक्रबार सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो। कर छली गर्नेमा ७ वटा एयरलाइन्स कम्पनीहरु छन्। आन्तरिक राजस्व कार्यालय पुतलीसडकमा दर्ता रहेका ५ वटा एयरलाइन्स कम्पनी, नयाँ बानेश्वरको एउटा र टंगालको एउटा गरी ७ एयरलाइन्स कम्पनी छन्। 

आयकर ऐन, २०५८ को दफा ७० अनुसार नेपालबाट प्रस्थान हुने यात्रु ओसारपसार गर्दा ५ प्रतिशत र नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने हवाई यातायातमा २ प्रतिशतका दरले कर लाग्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार उडान भर्ने एयरलाइन्सको टिकट जुनसुकै देशबाट जारी भए पनि नेपालबाट प्रस्थान हुने यात्रुको आधारमा हवाई सेवामा कर लाग्ने गर्छ। 

यी ७ कम्पनीबाट आर्थिक वर्ष २०७५÷७६ मा ५१ करोड ९८ लाख ८९ हजार रुपैयाँ कम राजस्व उठेको महालेखाले ठहर गरेको छ। ती कम्पनीहरुमाथि छानबिन गरी सोमा लाग्ने शुल्क तथा ब्याजसहित असुल गर्नसमेत सरकारलाई महालेखाले निर्देशन दिएको छ।