– भक्तराज रसाइली

काठमाण्डौ । भनिन्छ ‘सपना देख्नेहरू कहिल्यै हार्दैनन् ।’ देखेको सपना पूरा गर्न अथक मेहनत गरे सफलता पाइन्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै आईटी सेक्टर र वित्तीय सेक्टरलाई मध्यस्थ गर्ने प्रणालीको सहारामा भर्चुअल सर्भिसको बिजनेस सुरु गरेका नवउद्यमी हुन्, रमेश दियाली ।

संखुवासभा खाँदबारी घर भएका दियाली स्मार्ट कार्ड नेपालका संस्थापक र सोसाइटी डेभलपमेन्ट फाउन्डेसनका संस्थापक तथा सीईओ छन् । हाल काठमाण्डौको पुतलीसडक बस्दै आएका ३० वर्षीय दियालीले आरआर कलेजबाट ग्रामीण विकासमा स्नातक र दुबईबाट आईटी विषयमा प्रोफसनल कोर्ष अध्ययन गरेका छन् ।

स्मार्ट कार्ड भित्र्याउने संघारमा पुगेका दियालीले नेपाल राष्ट्र बैंकबाट भुक्तानी तथा फछ्र्यौट विभागबाट लाइसेन्स लिइसकेका छन् । उनको पेमेन्ट एन्ड डिपोजिट गेटवेको प्रडक्ट भने केही साताभित्रै सार्वजनिक गर्न गइरहेका छन् । 
यसैगरी सोसाइटी डेभलपमेन्ट फन्डले चाहिँ समाजमा फन्डिङमा सहयोग गर्दै आएको छ । नेपालकै पहिलो अनलाइन क्राउड फन्डिङ प्लेटफर्म तथा कम्पनी रहेको दियालीको दाबीसमेत छ ।

विगत ५ वर्षदेखि कम्पनीको स्थापनामा रिसर्च गर्दै अनौपचारिक च्यानलमा रहेको पैसालाई बैंकिङ प्रणालीलाई थप्न सहयोग हुने किसिमले दियालीले स्मार्ट रिचार्ज कार्डको परिकल्पना गरे । २०६३ सालमा एसएलसी दिइसकेपछि दियालीले खाँदबारीमै ल्याङग्वेज र कम्प्युटर इन्सिच्युट खोले तर सोचेजस्तो नाफा नभएपछि उनले बन्द गर्नुपर्यो । अनि विदेश जाने लक्ष्य बोकेर दुबई पुगेर दियालीले दुई वर्ष रोगजार गरे । त्यहाँ छँदा लेबरमा कार्य गरिरहेका दियालीले आईटी विषय पढ्ने निधो गरे ।

२०६७–६८ दुई वर्ष दुबईमा बिताएका दियालीलाई इनोभेसन गर्न भित्रैदेखि मन थियो । अनि नयाँ जोश जाँगरसहित नेपाल फर्केर उनले आफ्नै गाउँठाउँमा वेबलिंक नामक आईटी कम्पनी स्थापना गरे । यद्यपि उनले आरआर कलेजमा स्नातकको अध्ययनलाई समेत बढाउँदै गए ।

वेबलिंकमा काम गरिरहँदा नै दियालीलाई स्मार्ट कार्डका कन्सेप्ट फुरेको रहेछ । ‘म एकदमै जिज्ञासु बन्नुपर्ने अनि क्रिएटिभ काम गर्न रुचाउँछु’, दियाली भन्छन्, ‘सुत्ने बेला म सोच्दै ढल्किन्छु । अनि अकस्मात फाइनान्सियल सेक्टर शब्द मनमा आयो ।’

‘आवश्यकतामा सिर्जना हुने रहेछ भन्ने मान्यता मसँग थियो । मेरो परिकल्पना मैले स्थानीय बुद्धिजीवी, नेतालगायत सबैलाई भनेँ तर कसैले पत्याएनन् । बरू उल्टै नकारात्मक आलोचना गरे’, दियालीले विगत सम्झे ।

गाउँमा दियालीको सपना पूरा हुने छाँटकाँट थिएन । त्यसपछि सपना र रहरहरुको संगमस्थल मानिँदै आएको राजधानी काठमाण्डौमा दियाली छिरे । ‘काठमाण्डौ आउँदा मसँग पैसा थिएन । साथीभाइहरूले २५ सय रुपैयाँ दिएपछि गाडीभाडा लिएर म राजधानी आएको थिएँ’, मलिन स्वरमा दियालीले भने, ‘कम्पनी रजिस्टारको कार्यालय र नेपाल राष्ट्र बैंक बुझ्नका लागि गएँ ।’

त्यतिबेला काठमाण्डौमा लजमा बस्दा पैसा नभएर नागरिकताको प्रमाणपत्र लजमा धितो राखेको तीतो विगत पनि दियालीले सुनाए । ‘पैसा नभएपछि मैले पैसा लिएर आएपछि नागरिकत लिएर जाने सर्तमा लजमा बसियो’, उनी भन्छन्।

स्मार्ट कार्ड नेपालका तीन प्रडक्ट छन् । जसमा स्मार्ट स्क्र्याच वा रिचार्ज कार्ड, स्मार्ट वालेट र स्मार्ट रेमिट पर्दछन् । मोबाइलको रिचार्ज कार्डझै हुने स्मार्ट रिचार्ज पेपरबेसमा रहेको दियालीको भनाइ छ ।

एउटै कार्डबाट विविध वित्तीय कारोबार गर्न मिल्ने रिचार्ज कार्ड बनाइएको दियाली सुनाउँछन् । जुन १ सय, ५ सय, १ हजार, २ हजार, ५ हजार, १० हजार र २० हजार मूल्यमा रहेका स्मार्ट रिचार्ज कार्डहरु कम्पनीका डिस्ट्रिब्युटरमार्फत सहजै पाउने व्यवस्था रहेको दियाली बताउँछन् । स्मार्ट वालेटमा भने हाल सञ्चालनमै रहेका पेमेन्ट गेटवेका फिचरझैँ हुने अनि यसमा स्मार्ट रिचार्ज पनि लोड हुने व्यवस्था रहेको दियाली जानकारी दिन्छन् ।

वि.सं. २०७० सालमा दियाली एउटा सपना बोकेर राजधानी आएका थिए । उनीसँग सपना थियो तर पैसा थिएन । त्यही सपनालाई साकार पार्न लगानीको स्रोत जुटाउन दियालीले धेरै व्यक्तिहरुसँग अनुनयसमेत गरे । नेपालका अर्बपति व्यापारी, पूर्वप्रधानमन्त्री, पूर्वअर्थसचिवलगायतलाई भेट गर्दासमेत दियालीको प्रोजेक्टलाई कसैले सहयोग गरेनन् । अन्ततः चिनजानकै साथी बेलायत बस्दै आएका गोपाल पौडेलले बीजमनी दिएपछि दियालीको सपनामा थोरै सम्भावानाको ढोका खुल्यो ।

हाल दियालीको स्मार्ट डिजिटल कम्पनीमा सेयर बजारका एक भेट्रान लगानीकर्ता, चर्चित उद्योगी र बैंकर्सहरू आवद्ध छन् ।

स्मार्ट डिजिटल सेवाले बैंक बचत वृद्धि हुने र बचत गर्ने बानीको विकासमा सहयोग पुग्ने दियालीको बुझाइ छ । बैंकिङ च्यानलमा पैसा आउने र राष्ट्र बैंकको नगदरहित बनाउने नीतिलाई समेत सघाउ पुर्याउने विशेषताका साथ स्मार्ट रिचार्ज कार्ड हराए पनि ट्रयाकिङ गरेर पत्ता लगाउने विशेषता रहेको दियालीको दाबी छ ।

बैंकिङ प्रणाली नपुगेका गाउँहरुका लागि र सानो बचतलाई समेत प्रोत्साहन गर्ने भएकाले रिचार्जबाट विविध भुक्तानी गर्न मिल्ने सुविधा रहेको उनको भनाइ छ । यो सेवा अनलाइन र अफलाइन दुवै हुने कम्पनीले जनाएको छ ।

हातमा सिर्जना बोकेर हिँडेका दयालीलाई लगानी जुटाउन ठूला व्यक्तिहरुलाई विश्वास दिलाउन गाह्रो भएन भन्ने जिज्ञासामा रिसर्चकै सिलसिलामा बिजनेस टाइकुनहरुसँग भेट भएको दियालीले खुलाए । ‘स्पष्ट भिजनसहित प्रविधिगत आत्मविश्वास मसँग भएकाल पनि मैले लगानी जुटाउन सफल भएँ’, उनले थपे, ‘उसो त लगानी जुटाउने सिलसिलामा पैसा हुँदैन थियो, बाटोमा खाजा खाइरहेको देख्दा मैले भने थुक निलेको समेत छु । केही कुरा पाउन केही कुरा गुमाउनुपर्छ भनेझैं म सपना पूरा गर्ने दौडमा यस्ता बाधा–व्यवधानलाई चिर्दै गएँ।’

यसो त दियालीलाई उद्यमी बन्न २०६४ सालमा गाउँमा एक कम्पनीको जागिरमा अन्तर्वार्तामै फेल गराइदिएपछि इखिएर जागिर खानेभन्दा जागिर दिने बन्ने अठोट पालेरै आज आइटी कम्पनी हाँकिरहेका छन्, दियाली ।

युवाहरुलाई एउटै उद्देश्य लिई १० वर्षमात्र निरन्तर खट्न सक्ने भए यहीँ सबैथोक रहेको दियालीको ठम्याइ छ । ‘केही गर्ने चाहना भए यहीँ केही गर्न सकिने रहेछ’, दियाली भन्छन्, ‘विदेशमा मैले मालिकको कुटाइ पनि खाएँ, एउटा दुर्घटनामा झन्डै ज्यानै गुमाएँ ।’

सपनालाई कर्ममा ढाले सफल भइने दियालीको भोगाइ छ । आजको युग विज्ञान प्रविधि र भर्चुअल सर्भिस तथा भर्चुअल बिजनेसकै दबदबा रहेको दियालीको बुझाइ छ । सपना पूरा गर्न सिरानीमा राख्न नहुने बताउँदै सपना पूरा गर्न त हिँड्नै पर्ने दियाली सुझाउँछन् ।

कुनै पनि क्षेत्रमा सफल हुन योजना, सपोर्ट र एक्सनको जरुरत पर्ने दियालीको भनाइ छ ।

राज्यले वैदेशिक रोजगारीका लागि ढोका खोल्नुभन्दा स्वदेशमै युवाहरुलाई विविध क्षेत्रमा अवसर र सम्भावनाका ढोका खोल्दा मुलुकको समृद्धिको सपना त साकार हुन्छन् नै रोजगारी अभिवृद्धि पनि हुन्छ । युवाहरु भनेका देशकै दरिला खम्बाका रुपमा दरिएका हुन्छन् ।

यद्यपि नेपालमा भने कुनै कम्पनी संस्थापना गर्दै ५–६ वर्ष बित्ने र लगानीका स्रोतहरु समेत अपर्याप्तताले मुलुकमा आर्थिक गतिविधि र विकासले गति समात्न नसकिरहेको देखिन्छ ।

दियालीजस्ता युवाहरु आफ्नै मुलुकमा केही नौलो काम गर्न खोज्दा सरकारले प्रोत्साहन र संंरक्षणसमेत गर्नुपर्ने टड्कारो आवश्यकता आम युवाहरुले भोगिरहेको विषय हो ।