– अनन्त्य सुन्दर

काठमाण्डौ । हिन्दु धर्मावलम्बीको महान् चाड दसैँ सुरु भइसकेको छ। लामो समयसम्म बिदा हुने भएकाले दसैँका अवसरमा परिवारजनसँग भेटघाट गरी रमाइलो गर्नुका साथै विभिन्न नयाँ ठाउँहरु घुम्न जाने चलन छ।

मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सबिर बादे श्रेष्ठ दसैँको बिदामा नेपालको पूर्वतिर घुम्ने योजना रहेको बताउँछन्। घरपरिवारसँगै काठमाण्डौमा नै दसैँ मनाउने योजना छ। ‘दसैँको बिदामा भने साथीभाइसँग मोटरसाइकलमा पूर्वतिर घुम्ने योजना छ’, उनले भने।

बालापनको दसैँ सम्झिँदै श्रेष्ठ भन्छन्, ’मलाई काठमाण्डौको भन्दा पनि बनेपाको नै दसैँ रमाइलो लाग्छ। गाउँमा दसैँको माहौल नै फरक हुने भएकाले दसैँको धेरै नै फरक अनुभव हुन्छ।’

‘बनेपामा हुँदा दसैँमा बिहानै ४–५ बजे उठेर सबै जम्मा भएर बनेपास्थित नवदुर्गा चण्डेश्वरी मन्दिरमा नवरथ जान्थ्यौँ। दसैँको दिन बनेपा सहर भरी नै महोत्सवजस्तो हुने भएकाले सहर नै रमणीय हुन्थ्यो’, उनले भने, ‘तर, दसैँमा काठमाण्डौमा भएका सबै आआफ्नो गाउँ जाने भएकाले दसैँमा बनेपामा जस्तो यहाँ रौनक हुँदैन।’

दसैँको शुभकामना दिँदै श्रेष्ठ भन्छन्, ‘अहिले सेयर बजारमा दीर्घकालीन लगानी गर्ने राम्रो अवसर छ। त्यसैले दसैँको बिदाका अवसरमा वित्तीय अवस्था राम्रा भएका कम्पनीहरुबारे अध्ययन गर्न सकिन्छ।’ 

अहिले कम्पनीको सेयर राम्रो मूल्यमा आएकाले कसैले लगानी नगरेको बेला सेयर किन्दा अबको एक वर्षजतिमा राम्रो प्रतिफल प्राप्त हुने श्रेष्ठको भनाइ छ।