काठमाण्डौ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आफनो दोस्रो वार्षिक साधारणसभा होटल गोरखा बिसौनिमा सम्पन्न गरेको छ । 

साधारण सभाले एक कित्ता बराबर एक दशमलव शून्य पाँच कित्ता (१ः१.०५) हकप्रद  शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । 

हकप्रद शेयर जारीपछि वित्तीय संस्थाको चुक्तापूँजी रु १० करोड चारलाख पचास हजार पुग्ने छ ।

साधारण सभामा वित्तीय संस्थाका अध्यक्ष कुष्णबहादुर थापाले केही दिनअघि मात्रै नेपाल राष्ट्र बैकबाट प्राप्त परिपत्रमा उल्लेख भएअनुसार लघुवित्त वित्तीय संस्थाहरु एक प्रदेश वा राष्ट्रियस्तरमा सञ्चालन गर्नुपर्ने प्रावधान रहेको र यस वित्तीय संस्थाको भविष्यको योजना पनि विगतको ब्यवस्थाअनुसार १० जिल्ला वा प्रदेशमा मात्र सीमित नरही राष्ट्रियस्तरको संस्थातर्फ अगाडि बढ्ने रहेको हुँदा यस राष्ट्रबैकको यस प्रावधानलाई अवसरको रुपमा लिन  र नविनतम अवधारणाको विकास गरी नमुना लघुवित्तको रुपमा स्थापित गर्ने सोचका साथ अघि  बढ्नुपर्नेमा जोड दिए । उनले अहिले वित्तीय संस्थाहरु नाफामुखी र बजार केन्द्रित भएको परिपे्रक्षमा यस वित्तीय संस्थाले गाम्रिण दुरदराजमा गई वित्तीय कारोवारका साथै सामाजिक कार्य पनि गर्दै आएको बताए । 

पूर्वसंचालक हरिप्रसाद अर्याल र स्टक ब्रोकर एसोशिएसनका पूर्व अध्यक्ष प्रियराज रेग्मीले समेत सो अवसरमा बोलेका थिए । 

यस वित्तीय संस्थाले ग्रामीण क्षेत्रमा विपन्न वर्गको आर्थिक, सामाजिक रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्दै आएको र हालसम्म वित्तीय संस्थाले २६ वटा शाखा कार्यालय मार्फत १८ हजार ५ सय भन्दा बढी सदस्यहरुलाई समूहमा आबद्ध गराई १० हजार ऋणि सदस्यबाट रु ६५ करोड कर्जा लगानी भएको जानकारी गराउँदै वित्तीय संस्थाले आगामी दिनमा गाम्रिण क्षेत्रहरुमा थप शाखा बिस्तार गर्ने लक्ष्य रहेको प्रमुखकार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।