काठमाण्डौ । पछिल्लो समय बैकिङ सेवा बिस्तारको आक्रामक नीति लिएको एनआइसी एशिया बैंक वार्षिक साधारणसभा आह्वानमा पनि अन्य बैंकभन्दा अगाडि देखिएको छ । 

आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बन्न सफल यो बैंकले सो लगायतका प्रस्ताव पारितका लागि आगामी भदौ ३० गते शुक्रबार वार्षिक साधारणसभा आह्वान गरेको हो । 

शुक्रबार एक सूचनामार्फत बैंकले भदौ ३० गते बिहान ९ बजे काठमाण्डौको बबरमहल हाइटस्थित कार्की ब्याङ्वेटमा साधारणसभा बोलाएको छ । 

भदौ ८ गते बसेको ३१७ औं संचालक समितिको बैठकले साधारणसभाको मिति टुंगो लगाएको हो।

साधारणसभामा चुक्तापूँजीको २० प्रतिशत अर्थात १ अर्ब ३३ करोड ८५ लाख १९ हजार ५ सय रुपैयाँ बराबरको बोनस सेयर तथा सोमा लाग्ने कर प्रयोजनका लागि १.०५ प्रतिशत अर्थात ७ करोड ४ लाख ४८ हजार ३ सय ९५ रुपैयाँ नगद लाभांश वितरणको स्वीकृति प्रदान गर्ने एजेण्डा विशेष प्रस्तावको रुपमा रहेको छ ।

साधारणसभामा बैंकको प्रबन्धपत्रमा अधिकृत पूँजी, जारी पूँजी, चुक्तापूँजी वृद्धि गर्ने, बैंकको नियमावलीमा संचालकहरुको पारिश्रमिक, भत्ता र सुविधा वृद्धि गर्ने लगायतको प्रस्ताव पनि विशेष प्रस्तावको रुपमा पेश हुनेछ । 

आर्थिक वर्ष २०७३/७४ को संचालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीषकको प्रतिवेदन पारित, सहायक कम्पनी एनआइसी एशिया क्यापिटलको  बित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गर्ने लगायतको प्रस्ताव सामान्य प्रस्तावको रुपमा राखिएको छ ।