काठमाण्डौ । माछापुच्छ्रे बैंक यो वर्ष वार्षिक साधारणसभा आह्वान गर्ने पहिलो बैंक बनेको छ । 

यो बैंकले आगामी कात्तिक ६  गते आफ्नो बाइसौं वार्षिक साधारणसभा आह्वान गरेको हो । 

बैंकले एक सूचना प्रकाशित गरी कास्कीको पोखरास्थित होटल पोखरा ग्राण्डमा साधारणसभा आह्वान गरेको हो । 

असोज १४ गते बसेको संचालक समितिको बैठकले भिडियो कन्फ्रेन्समार्फत सहभागी हुनसक्ने गरी कात्तिक ६ गते साधारणसभा आह्वान गरेको सूचनामा उल्लेख छ । 

साधारणसभामा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीहरुलाई ३.३७ प्रतिशतको दरले हुन आउने नगद लाभांश र ७.०३ प्रतिशत बोनस सेयर वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पेश हुनेछ । 

आर्थिक वर्ष २०७६ ७७ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव समेत राखिएको छ । 

यस्तै, सर्वसाधारण समूहका सेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना संचालकहरुको निर्वाचन गर्ने कार्यक्रम समेत राखिएको छ । 

बैंकले साधारणसभा प्रयोजनका लागि असोज २२ गते सेयर दाखिला खारेजको दर्ता बन्द हुने जनाएको छ । यसको अर्थ माछापुच्छ्रे बैंकको साधारणसभामा सहभागी हुनका लागि असोज २२ गते अगाडि कायम सेयरधनी मात्र योग्य हुनेछन् । 

यसरी हेर्दा माछापुच्छ्रे बैंकले दशैंअघि नै आफ्ना सेयरधनीलाई थोरै भए पनि नगद लाभांश दिने देखिन्छ ।