काठमाण्डौ । साना किसान बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड २० लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा ७ करोड ९१ लख रुपैयाँ रहेको थियो । 

समीक्षा अवधिमा यो बैंकको खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १४ करोड ७४ लाख रुपैयाँ रहेको यस्तो आम्दानी बढेर यो वर्ष १६ करोड ३३ लाख पुुगेको हो । अघिल्लो वर्ष ७ करोड ६० लाखमा सीमित ब्याज खर्चमा अचाक्ली वृद्धि भई समीक्षा अवधिमा १८ करोड ४० लाखको उचाईमा पुुगेको छ । 

व्यवसाय बिस्तार गरी ब्याज आम्दानीमा राम्रो बढोत्तरी भए पनि ब्याज खर्च अचाक्ली बढ्दा र कर्मचारी खर्चमा समेत उस्तै हुँदा भनेजस्तो नाफा आर्जन हुन नसकेको देखिएको छ । 

समीक्षा अवधिमा यो माइक्रोफाइनान्स कम्पनीले १२ अर्ब ८५ करोड सापटी लिई १४ अर्ब ४९ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ९ अर्ब ७० करोड सापटी लिई ११ अर्ब २७ करोड बढी कर्जा परिचालन गरेको थियो । 

यो कम्पनीले आफ्नो जगेडाकोषलाई थप मजबुत बनाएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ९९ करोड ५१ लाख रुपैयाँ रहेको कोषमा समीक्षा अवधिसम्म १ अर्ब १९ करोड ३१ लाख जम्मा भएको छ । 

समीक्षा अवधिमा यो माइक्रोफाइनान्स कम्पनीमा खराब कर्जा केही बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ०.११ प्रतिशत रहेको यस्तो कर्जा बढेर ०.१२ प्रतिशत पुुगेको हो । २.८८ प्रतिशत रहेको कस्ट अफ फण्ड बढेर ५.५२ प्रतिशत पुुगेको छ । 

यो अवधिमा साना किसान विकास बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी ६५.२२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३३७.१७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३.९२ गुणा कायम भएको छ ।