काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमीटेड र आरएमडिसी लघुवित्त वित्तीय संस्थाबीच मर्जर हुने भएको छ । 

यी दुई संस्थाबीच एकआपसमा गाभिने उद्देश्यले शुक्रबार समझदारी भएको हो । 

मर्जरका लागि सेयर आदानप्रदान अनुपात १००ः८७ कायम हुने सहमति भएको छ । यसको अर्थ आरएमडिसी लघुवित्तको हाल १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन्।

यसैगरी, दुबै संस्थाका संस्थापक समूहबाट २/२ जना, सर्वसाधारण समूहबाट १/१ जना र विशेषज्ञ सञ्चालक, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले व्यवस्था गरे बमोजिम १ जना नियुक्ति गर्ने सहमति समेत भएको छ । 

एकआपसमा गाभ्ने/गाभिने कार्य सम्पन्न भएपछिको एकिकृत वित्तीय संस्थाको नाम “साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमीटेड हुने समेत समझदारीपत्रमा उल्लेख छ । 

'मर्जरपछि यस लघुवित्त वित्तीय संस्थाको हालको अलग–अलग पुँजीगत आधारको झण्डै दोब्बर पुँजीगत आधार भई एक सबल पुँजी भएको उत्कृष्ट स्तरको लघुवित्त वित्तीय संस्था बन्नेछ ।' मर्जर सम्झौतापछि जारी विज्ञप्तिमा भनिएको छ-'मर्जरपछि मुलुकको वर्तमान माग अनुसारको कृषि तथा लघुवित्तको क्षेत्रमा लगानी गर्ने एक विशिष्टिकृत वित्तीय संस्थाको रुपमा खडा हुन आधार तयार हुने र नेपाल सरकार तथा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सहयोगी संघ/संस्थाहरुको कृषि तथा ग्रामीण विकास अभियानमा एक सबल, सक्षम र विश्वासिलो साझेदारको रुपमा स्थापित हुने आधारशिला तयार हुने विश्वास गरिएको छ ।'

मर्जरको समझदारीपत्रमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाको तर्फबाट अध्यक्ष खेमबहादुर पाठक र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको तर्फबाट अध्यक्ष सुजाता जोशीले हस्ताक्षर गरेका थिए।