काठमाण्डौ । मुख्य वित्तीय सूचकमा सन्तोषजनक प्रगति गर्दै साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा खुद नाफामा २४.९२ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा ४९ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाले ३९ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी ९१ करोड ८९ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्ष ७५ करोड १० लाख रुपैयाँमा सीमित थियो । यसले संस्थाको व्यवसाय विस्तारले आक्रामक गति लिएको देखाउँछ ।

संस्थाको सञ्चालन मुनाफा ७७ करोड ६ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ६१ करोड ६५ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि ४ करोड ४४ लाख रुपैयाँ छुट्याएको छ । यो अघिल्लो वर्ष ३ करोड ८८ लाख रुपैयाँ थियो ।

यस अवधिमा संस्थाले १७ अर्ब ६५ करोड रुपैयाँ सापटी लिई २० अर्ब ४५ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष संस्थाले यही अवधिमा १५ अर्ब ७४ करोड रुपैयाँ सापटी लिई १६ अर्ब ८९ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी ७८ करोड ६० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष पनि संस्थाको चुक्ता पुँजी ७८ लाख ६० लाख रुपैयाँ नै थियो ।

संस्थाले जगेडा कोषमा अघिल्लो वर्षको तुलनामा ४१.७० प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष १ अर्ब १८ करोड रुपैयाँको रहेको संस्थाको जगेडा कोषको आकार समीक्षा अवधिमा बढेर १ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।

संस्थाको प्रतिसेयर आम्दानी ६२.४७ रुपैयाँ रहेको छ । संस्थाको मूल्य आम्दानी अनुपात १५.१८ गुणा, प्रतिसेयर नेटवर्थ ३१३.५६ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८२८.४८ रुपैयाँ रहेको छ ।