काठमाण्डौ । क्षेत्रीय स्तरका बित्तीय संस्थालाई प्राप्ति गरी ठूलो बन्ने रणनीतिमा रहेको सिटिजन्स बैंक इन्टरनेशनलले सिर्जना फाइनान्सलाई पनि प्राप्ति गर्ने भएको छ । 

सनराइज बैंकसँगको प्राप्ति प्रक्रिया भाँडिएपछि बिलखबन्दमा परेको सिर्जना फाइनान्सलाई सिटिजन्स बैंकले प्राप्तिको सम्झौता गरेको हो । सिटिजन्स बैंक पछिल्लो समय साना संस्था मर्जर गरी ठूलो साइजको बैंक बन्ने बाटोमा आक्रामक बनेर लागिरहेको छ । 

सिटिजन्स बैंकको काठमाण्डौस्थित मुख्य कार्यालयबाट संचालक प्रवलजंग पाण्डे, प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल लगायतको एक टोली प्राप्ति सम्बन्धी सम्झौता गर्नका लागि विराटनगर पुगेको थियो । विराटनगरस्थित सिर्जना फाइनान्सको मुख्य कार्यालयमा दिउँसो  प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा सिटिजन्स बैंकका मर्जर कमिटीका संयोजक प्रवलजंग पाण्डे र सिर्जना फाइनान्सका मर्जर कमिटी संयोजक तथा संचालक सुवास आचार्यले हस्ताक्षर गरेका छन् । 

यसअघि सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्तिको सम्झौता गरेको थियो । तर, प्राप्तिको सबै प्रक्रिया पूरा हुने समयमा सेयर स्वाप रेसियो र सिर्जना फाइनान्सका केही उच्च तहका कर्मचारीहरुलाई राम्रो सेवासुविधासहित विदा गर्ने विषयमा विवाद भएपछि मर्जर भाँडिएको थियो । 

यही विषयलाई लिएर केही दिनअघि नेपाल राष्ट्रबैंकले सनराइज र सिर्जनाका संचालकहरुलाई सचेत गराइसकेको छ भने सनराइजलाई ‘क’ वर्गकै कुनै बैंकसँग मर्जरमा जान लिखित निर्देशन दिइसकेको छ।

सनराइजसँग मर्जर भाँडिएदेखि नै सिर्जना फाइनान्स र सिटिजन्स बैंकबीच गाभ्ने गाभिने विषयमा कुराकानी भइरहेको थियो । तिनै छलफल निश्कर्षमा पुगेसँगै दुवै पक्षले एमओयूमा हस्ताक्षर गरेको हो ।

उच्च स्रोतका अनुसार सिर्जना फाइनान्सलाई सिटिजन्सले १००ः ९४ रुपैयाँ आसपासको स्वाप रेसियोमा गाभ्ने भएको हो । डिडिएपछि यो अनुपातमा सामान्य घटबढ हुनसक्नेछ । 

सिर्जना फाइनान्सको २१ वटा शाखा संचालनमा रहेका छन् । यसको सेवा पूर्वी नेपालका ३ जिल्लामा फैलिएको छ । हाल कम्पनीको चुक्तापूँजी ८४ करोड ७८ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म सिर्जना फाइनान्सले ६ अर्ब २० करोड कर्जा परिचालन तथा ८ अर्ब ९१ करोड बढी निक्षेप संकलन गरेको थियो । 

सिटिजन्स बैंकले तिनाउ मिसन र सिर्जना फाइनान्सलाई प्राप्ति गरिसकेपछि बैंकको डिपोजिटको आकार १३२ अर्ब माथि तथा कर्जाको आकार ११२ अर्ब माथि पुग्नेछ । कुल शाखा संख्या १८८९ हुनेछ भने बुधबारसम्मको तथ्यांक हेर्दा ग्राहक संख्या १० लाख ५० हजार हुनेछ । तिनाउमिसन र सिर्जनालाई गाभिसकेपछि सिटिजन्सको चुक्तापूँजी १२ अर्ब ५७ करोड हुनेछ । यी दुई संस्था प्राप्तिपछि सिटिजन्स बैंक मुख्य सूचकका हिसाबले टप १६ बैंकभित्र पर्ने देखिएको छ । 

सिटिजन्स बैंक पछिल्लो समय साना संस्थालाई प्राप्तिमा आक्रामक बनेर लागेको छ । सहयोगी विकास बैंकलाई प्राप्तिपछि यो बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकसँगको मर्जर अन्तिम चरणमा पुर्याएको छ । 

बैंकले आफ्नो कमजोर उपस्थिति रहेका अन्य प्रदेशका क्षेत्रीय स्तरका बैंक तथा वित्तीय संस्थाहरुलाई समेत प्राप्ति गर्ने रणनीतिका साथ छलफललाई जारी राखेको एक संचालकले बताए । 

यो बैंकले आगामी ३ वर्षभित्र टप टेन बैंक बन्ने रणनीति केही दिनअघि सार्वजनिक गरिसकेको छ । कोभिड प्रभावको बेला समेत सिटिजन्स बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा कतिपय महत्वपूर्ण सूचकमा उत्साहजनक प्रगति गरेको छ ।