काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकलाई ३८ रुपैयाँ दिन तयार भए पनि अन्तिम अवस्थामा कुरा बिग्रिएपछि अहिले नेपालको निजी क्षेत्रको बलियो नवील बैंकले नेपाल बंगलादेश बैंकसँग छलफल अगाडि बढाएको छ । 

बिजिनेशमा आक्रामक बनेको एनआइसी एशिया बैंक र मर्जरपछि ठूलो बनेको ग्लोबल आइएमई बैंकले कतिपय सूचकमा टपेपछि दवाबमा परेको नवीलले हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जरका लागि एमओयू हुने अवस्था बनेसँगै आफ्नो सक्रियता समेत बढाएको हो। 

यो क्रममा पछिल्लो समय नवीलले बंगलादेश बैंकलाई खरीद गर्ने उद्देश्यले छलफल अगाडि बढाएको छ । नवीलले बंगलादेश बैंकमा बलियो उपस्थिति जनाउने बंगलादेशी लगानीकर्ताहरुसँग २ चरणको प्रारम्भिक छलफल गरिसकेको बैंकस्थित उच्च स्रोतले जानकारी दिएको छ । ‘यो विषयमा नेपाली संचालकहरु नै बेखबर छन् ।’ स्रोतले भन्यो–‘तर, बंगलादेशीहरुसँग नवीलले बंगलादेशमै २ चरणको प्रारम्भिक छलफल गरिसकेको छ ।’ 

स्रोतका अनुसार नवीलले बंगलादेशलाई मर्जर गर्न नभई खरीद गर्न खोजिरहेको छ । राम्रो मूल्य पाएको खण्डमा बंगलादेशीहरु पनि नवीलमा संस्थालाई बिलय गराउने मूडमा छन् । 

‘संभवत निकै चाँडै नवील र बंगलादेश बैंकबीचको छलफलले निश्कर्ष पाउँछ होला ।’ स्रोतले भन्यो–‘त्यही कुरा अहिले बजारमा चुहिएका कारण पनि हाम्रो बैंकको सेयरमूल्य बढिरहेको हो ।’ 

यसअघि एनसीसी बैंकसँग पनि प्राप्तिका लागि धेरै चरणका छलफल चलाएको नवीलले उसलाई ३८ रुपैयाँ दिने तयारी गरेको थियो । एनसीसीका संचालकले ४० रुपैयाँ मागेका थिए । तर, बीचमा केही प्राविधिक कुरामा गडबडी भएपछि एनसीसीसँगको प्रक्रिया स्थगित अवस्थामा रहेको समेत स्रोत बताउँछ । 

अरु को–कोसँग छलफल ?
पछिल्लो समय दोश्रो बजारमा नवीलको नाम जोडेर चलखेल गर्नेहरुको लहर नै आएको छ । नवीलको नाम विभिन्न बैंक तथा फाइनान्ससँग जोड्दै सेयर मूल्य बढाउने खेल समेत हुँदै आएको छ । तर, विभिन्न संस्थाको नाम नवीलसँग जोडिनु पछाडिको कारण फगत हल्ला वा चलखेल मात्र भने होइन ।

स्रोतका अनुसार नवीलले विभिन्न बैंक तथा वित्तीय संस्थासँग प्राप्तिको विषयमा कुराकानी गरेकै कारण सो सूचना बजारमा आएर सेयरमूल्य प्रभावित भएको हो । 

यो क्रममा नवीलले एनसीसीसँगै मेगा बैंक, सेञ्चुरी, सिभिल हुँदै यूनाइटेड फाइनान्ससँग समेत प्राप्तिको कुराकानी गरेको थियो । अरुसँग प्राप्तिको विषयमा गरिएको कुराकानी सफल नभए पनि क्रसहोल्डिङ रहेका कारण यूनाइटेड फाइनान्स नवीलमा बिलय हुने प्रवल संभावना छ । 

‘नवील पछिल्लो समय सबै बैंकहरुको नाडी छाम्दै हिँडेकोजस्तो देखिन्छ ।’ स्रोतले भन्यो–‘यदि भोलिका दिनमा हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जर सफल भयो भने नवीलले एकैपटक ३ वटासम्म बैंकलाई प्राप्ति गर्ने सम्झौता गर्यो भने पनि अचम्म नमान्दा हुन्छ ।’

नवील बैंकले पछिल्लो समय संस्थालाई ठूलो बनाउने उद्देश्यकै कारण बैंकिङ क्षेत्रमा विशेष दख्खल भएका व्यक्तिहरुलाई संचालकको रुपमा नियुक्त गरिरहेको छ । अहिले नवीलको संचालकको रुपमा विभिन्न वाणिज्य बैंक तथा एक विदेशी बैंकमा समेत सफल सीइओ भइसकेका व्यक्तिहरु रहेका छन् । प्रमुख कार्यकारी अधिकृतको रुपमा सेलिब्रेटी बैंकर अनिलकेशरी शाह छन् भने संचालक समितिको अध्यक्षको रुपमा पुराना र अनुभवी बैंकर उपेन्द्र पौड्याल, संचालकको रुपमा सीइओकै लेभलमा काम गरिसकेका उदयकृष्ण उपाध्याय, आशा राणा अधिकारी समेत रहेका छन् । उदयकृष्ण संस्थापक समूहबाट संचालक बनेका छन् भने अधिकारी स्वतन्त्र संचालकको रुपमा संचालक बनेकी छिन् । 

यस्तै, अर्का संचालकको रुपमा मलाय मुखर्जी पनि छन् । उनी पनि एक इण्डियन बैंकमा सीइओ भइसकेका व्यक्ति हुन् । 

नवीलले सीइओ पछिका उच्च तहहरुमा समेत अन्य बैंकका राम्रो अनुहारहरुलाई भित्र्याइसकेको छ । 

अब केही संस्था प्राप्ति गरी आकार पनि ठूलो बनाएर नवील पुनः सबै सूचकका हिसाबले एक नम्बरको बैंक बन्ने रणनीतिमा रहेको छ ।