काठमाण्डौ । नेपालको सेयर बजारमा थोरै कित्ता भएका सेयरहरुमा निकै धेरै चलखेल हुने गरेको छ । 

सप्लाई थोरै हुँदा निश्चित समूहले त्यसमा राम्रै चलखेल गर्ने मौका पाउने गरेको छ । थोरै कित्ता मात्र बजारमा सूचीकृत भएका कम्पनीहरुको बढीभन्दा बढी कित्ता उठाएर कुनै निश्चित समूहले आफ्नो स्वार्थअनुसार मूल्य बढाउन वा घटाउन सक्छ । 

धितोपत्र बोर्डले अब यस्तो चलखेल हुन नदिने उद्देश्यले विशेष व्यवस्था गर्न लागेको छ । 

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले थोरै कित्ता मात्र सूचीकृत भएका साना कम्पनीहरुको सेयर कारोबारमा हुनसक्ने चलखेललाई रोक्ने उद्देश्यले त्यस्ता कम्पनीहरुको मात्र सेयर कारोबार हुने विशेष प्लेटफर्म तयार गर्न लागिएको जानकारी दिए । 

उनकाअनुसार निकट भविष्यमै थोरै कित्ता मात्र सेयर जारी गरेका साना कम्पनीहरुको मात्र कारोबार हुने एसएमई प्लेटफर्म संचालन गरिनेछ । 

'निश्चित सीमा र मापदण्ड तोकेर साना कम्पनीहरुको मात्र सेयर कारोबार हुने प्लेटफर्मको रुपमा एसएमई प्लेटफर्म बनाउन लागेका हौं ।' अध्यक्ष ढुंगानाले भने-'यसको काम सुरु भइसकेको छ । नेप्सेले जतिसक्दो छिटो सिस्टम तयार गर्छ, त्यति छिटो यो व्यवस्थाको सुरुवात हुन्छ ।' 

साना कम्पनीहरुको एसएमई इण्डेक्स बनेपछि बजारमा धेरै ठूलो संख्यामा सेयरको आपूर्ति भएका कम्पनीहरुको समेत छुट्टै इण्डेक्स तयार हुनेछ । 

'साना र ठूला कम्पनीको अलग अलग कारोबार प्लेटफर्म र इण्डेक्स तयार गर्दा नेप्सेको इण्डेक्स गणना विधि अझ यथार्थपरक, वैज्ञानिक हुने अपेक्षा गर्न सकिन्छ ।' ढुंगानाले भने-'यो प्रयोगले इण्डेक्सको भोलाटिलिटी बढाउनेछ । बजार धेरै उतारचढाव हुने अवस्था आउन दिंदैन, बजारप्रति हेर्ने दृष्टिकोण सुधार्छ ।' 

थोरै कित्ता सेयरको आपूर्ति भएका कम्पनीहरुको मूल्य चाँडो चाँडो परिवर्तन भइराख्ने र त्यस्ता कम्पनीहरुलाई एउटा समूहमा राखिने उनको भनाई छ । 'तर, धेरै आपूर्ति भएका र मूल्यमा धेरै उतारचढाव नहुने ठूला कम्पनीका लागि भने मेन प्लेटफर्म तयार गरी कारोबारको व्यवस्था मिलाइनेछ, त्यसलाई हामीले मेन इण्डेक्स मान्नेछौं ।' ढुंगानाले भने-'यो व्यवस्थाले लगानीकर्ताले कुन तहको जोखिम लिने भन्ने विषय निर्णय गर्न पनि सहयोग पुग्नसक्छ ।'