काठमाण्डौ। घरभाडामा ५० प्रतिशत छुटको व्यवस्थासहित १४ बुँदे माग साना होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी महासंघले सरकारसमक्ष प्रस्तुत गरेको छ। यदि यी माग तत्काल सम्बोधन नभएर आन्दोलनमा उत्रिने चेतावनी महासंघले दिएको छ।
राजधानीमा बिहीबार पत्रकार सम्मेलन गर्दै महासंघले कोरोना महामारीका कारण सबै साना होटलहरु बन्द हुँदा पनि सरकारले बेवास्ता गरेको आरोप लगाएको छ। महासंघका अध्यक्ष हिराध्वज शाहले यस्तो संकटको घडीमा पनि सरकारले ठूला तारे होटल र साना होटलहरुबीच विभेद गरेको आरोप लगाए। ‘साना होटलहरु बिना शुल्क विदेशबाट आउने नागरिकलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्न दिन तयार थियौँ’, उनले भने, ‘तर सरकारले हामीलाई बेवास्ता गर्दै विदेशबाट फर्केकाहरुलाई तारे होटलमा महँगो शुल्क तिर्न बाध्य बनायो।’
अध्यक्ष शाहले विदेशबाट आउने नागरिकको इच्छा अनुसार सस्तो दरका होटलमा क्वारेन्टाइन बस्न पाउने गरी व्यवस्थापन गर्न माग गरे।
महासंघको १४ बुँदे मागमा होटल व्यवसायीहरुलाई घरभाडामा ५० प्रतिशत छुटको व्यवस्था गर्न आग्रह गरिएको छ। घरभाडा छुट दिने घरधनीको बैंक ऋणको ब्याजमा सहुलियत दिन पनि महासंघले माग गरेको छ।
लकडाउन खुलेपछि पनि तत्काल होटल सञ्चालन नहुने भएकाले बिजुली–पानीको महसुलमा १ वर्षसम्म छुट दिनुपर्ने, टेलिफोन र इन्टरनेटमा विशेष सहुलियत दिनुपर्ने महासंघको माग छ। यसैगरी १ वर्षको व्यवसाय कर तथा राजस्वमा छुट गर्नुपर्ने, बैंकको ऋण र ब्याज भुक्तानी गर्ने अवधि दुई वर्ष थप्नुपर्ने महासंघले माग अगाडि सारेको छ।
सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने, होटलहरुलाई क्वारेन्टाइनका रूपमा प्रयोग गराउन र सुरक्षा सावधानी अपनाएर होटल खोल्ने व्यवस्था गर्न महासंघको माग छ। ‘यदि यी माग तत्काल सम्बोधन नभए आन्दोलनको विकल्प छैन’, अध्यक्ष शाहले भने।
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago