काठमाण्डौ । मर्जर प्रक्रिया स्वीकृत गर्न सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीले एकैदिन विशेष साधारणसभा डाकेका छन्। 

दुवै कम्पनीको सञ्चालक समितिले असोज ११ गते विशेष साधारणसभा आयोजना गर्ने निर्णय गरेका हुन्। सानिमाको सभा काठमाण्डौको चन्डोलीसथत कुण्डलिनी दरबार बैंक्वेटमा र जनरलको सभा काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोगमा हुनेछ। दुवै सभा बिहान ११ बजेबाट सुरु हुनेछन्।

दुवै सभाले सानिमा र जनरल इन्स्योरेन्स आपसमा मर्ज हुनेसम्बन्धी विशेष प्रस्तावलाई पारित गर्नेछ। 

मर्जरपछि कम्पनीको नाम ‘सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड’ राख्ने अर्को विशेष प्रस्ताव पारित गर्नेछ। 

सभाले चल–अचल सम्पत्त तथा दायित्व मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थासमेतका आधारमा निर्धारण गरिएको सेयर अनुपात १ः१ कायम गर्ने गरी मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। 

सोही सभाले मर्जरपश्चात संस्थापक तथा सर्वसाधारण सेयरधनीको सेयर अनुपात ५१ः४९ कायम गर्न प्रस्ताव पारित गर्नेछ। 

यी दुई कम्पनीबीच गत असार २९ गते मर्जमा जाने प्रारम्भिक सम्झौता भएको थियो। हाल सानिमा र जनरल इन्स्योरेन्सको चुक्तापुँजी १–१ अर्ब रुपैयाँ रहेको छ। मर्जरपछि कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँ पुग्नेछ। 

विशेष साधारणसभा प्रयोजनार्थ दुवै कम्पनीले असोज ६ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ असोज ६ गतेअघि कायम सेयरधनीहरुमात्रै यी दुवै कम्पनीको सभामा भाग लिन पाउनेछन्।