काठमाण्डौ । सानिमा बैंकको ५ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज असार २४ गते दिन रहेको छ। 

गत असार १० गतेबाट सानिमा बैंकको ‘सानिमा डिबेन्चर–२०८९’ नामक ऋणपत्रका १ हजार अंकित दरका कुल ५० लाख इकाइ बिक्री खुलाइएको थियो। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ। 

बैंकको यो ऋणपत्रको कुल इकाइमध्ये ३० लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी २० लाख इकाइ सर्वसाधारण (सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन नपरेको) का लागि बिक्री खुला गरिएको छ। 

सानिमा बैंकको ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतम २० लाख इकाइसम्म खरिद आवेदन दिन सकिनेछ। लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्नेछन्। 

सानिमा बैंकको यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याज पाउनेछन्।