काठमाण्डौ । मर्जर प्रयोजनका लागि रोक्का राखिएको कुमारी बैंक र सानिमा जीआईसी इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आजको निर्णयबाट कुमारी बैंक र सानिमा जीआईसी इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरिएको हो। अब यी दुवैको आउँदो सोमबारबाट धितोपत्र दोस्रो बजारमा सेयर कारोबार आउनेछ। 

नेप्सेमा एनसीसी बैंकलाई प्राप्ति गरेपछि कुमारी बैंकका नाममा दुवै बैंकको गरी २६ करोड २२ लाख ५८ हजार ६१३.५७ कित्ता सेयर आज सूचीकृत भएको छ। यी दुवै बैंक १ः१ अनुपातमा मर्ज भएका हुन्। 

नेप्सेले कुमारी बैंकलाई केबीएल कारोबार संकेत प्रदान गरेको छ भने ओपनिङ रेन्ज प्रतिकित्ता १८९.५६ रुपैयाँ तोकेको छ। 

यसैगरी सानिमा जनरल र जनरल इन्स्योरेबीचको मर्जर प्रक्रिया पूरा गरी यी दुवै कम्पनीको कुल २ करोड कित्ता सेयर सानिमा जीआईसी इन्स्योरेन्सको नाममा सूचीकृत भएको छ। यी दुवै कम्पनी पनि १ः१ अनुपातमा मर्ज भएका हुन्। 

नेप्सेले यो कम्पनीलाई एसजीआईसी कारोबार संकेत प्रदान गर्नुका साथै प्रतिकित्ता ३६७.५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।