काठमाण्डौ । सानिमा बैंक लिमीटेडको रिजर्बमा पहिरो गएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सानिमा बैंकको रिजर्ब करिब ७७ प्रतिशतले घटेको हो । 

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म १४ अर्ब ३३ करोड सञ्चित रहेको रिजर्ब घटेर ३ अर्ब ३० करोडमा सीमित भएको हो । 

रिजर्बमा संकुचन देखिए पनि बाँकी सूचकमा पनि प्रगति नै देखिएको छ । 

यो बैंकले आफ्नो लाभांश क्षमता ४२ प्रतिशतले बढाएको छ । अघिल्लो वर्षको यही अवधिमा ३२ करोड ६९ लाख रहेको वितरणयोग्य मुनाफा बढेर ४६ करोड ४४ लाखको उचाईमा पुगेको हो । 

यस्तै, ५२ करोड ५४ लाखमा सीमित खूद नाफा बढेर ७४ करोड १२ लाखको उचाई चुमेको छ भने ५२ करोड ५४ लाखमा सीमित संचालन मुनाफा बढी ७४ करोड माथि पुगेको छ ।

यो बैंक पनि व्यवसाय बिस्तारमा आक्रामक नै देखिएको छ । अघिल्लो वर्ष ६४ करोड २६ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष ९७ करोड ८४ लाख पुगेको हो ।

समीक्षा अवधिमा सानिमा बैंकले ८४ अर्ब १६ करोड निक्षेप संकलन गरी ७५ अर्ब बढी कर्जा परिचालन गरेको छ । ३०.२० प्रतिशतले निक्षेप बढाएको बैंकले कर्जातर्फ २९.४५ प्रतिशतको फड्को मारेको छ । निक्षेपको तुलनामा कर्जातर्फको बढोत्तरी कमै रहेका कारण यो बंैकको चलाई सन्तुलित नै देखिएको छ । 

बैंकले ०.१४ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई अझै घटाएर ०.०८ प्रतिशतमा झार्ने सफलता पाएको छ भने १८.७५ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस)मा ३८.२० प्रतिशतको प्रगति गरी २५.९१ रुपैयाँ कायम गरेको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४१.३० रुपैयाँ र मूल्य आम्दानी अनुपात १३.१६ गुणा कायम भएको छ ।