काठमाण्डौ । सानिमा बैंक ओम्नी च्यानलबाट डिजिटल बैंकिङ सेवा सुरुआत गर्ने पहिलो बैंक भएको छ। 

बैंकले ग्राहकमा समान रुपले डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले आज बिहीबारदेखि आफ्नो मोबाइल बैंकिङ एप (सानिमा सजिलो ई–बैंकिङ) अपग्रेड गरेको हो। सानिमा बैंकको सम्पूर्ण डिजिटल बैंकिङ सेवाहरु मोबाइल बैंकिङ एप वा वेब ब्राउजरमा चल्ने हुँदा मोबाइल फोन, ट्याब्लेट र ल्यापपट वा कम्प्युटरबाट पनि चलाउन सकिन्छ।

नयाँ भर्जनका साथमा सानिमा बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले ई–क्यास पठाउने र अन्य व्यक्तिहरुले पाउन सक्ने, ई–भौचरबाट जम्मा गर्ने, बैंकसँग मिटिङ तय गर्ने, बचत खाता तथा ऋणको आवेदन दिने, डिजिटल बैंकिङ सेवाहरुसम्बन्धी सोधपुछ आदि सेवाहरुको लाभ उठाउन सक्नेछन्। साथै, खाताको विवरण हेर्ने, रकम स्थानान्तरण गर्ने, क्यूआर कोडबाट भुक्तानी गर्ने, मुद्दति खाता खोल्ने र अनलाइन भुक्तानी गर्नेजस्ता हालका सेवाहरु पनि प्रयोगकर्ताले प्रयोग गर्न सक्नेछन्। त्यसैगरी बैंक खाता नभएका प्रयोगकर्ताहरुले ई–क्यासबाट पठाएको रकम झिक्न र डिजिटल बैंकिङ सेवाहरुसम्बन्धी सोधपुछको सुविधा पाउन सक्नेछन्।

हालका मोबाइल बैंकिङ प्रयोगकर्ताको मोबाइल एप स्वतः अद्यावधिक हुनेछ भने स्वतः अद्यावधिक नभएको खण्डमा डाउनलोड गरी अद्यावधिक गर्न सक्नेछन्। साथै, वेब ब्राउजरमा चलाउन https://sajiloebanking.sanimabank.com/ मा लगइन गर्न सकिने बैंकले जनाएको छ। 

सानिमा बैंकको सातै प्रदेशमाहाल ८५ वटा शाखा, १४ विस्तारित काउन्टर र ८३ वटा एटीएम सञ्चालनमा रहेका छन्।