काठमाण्डौ । सानिमा बैंक लिमीटेडले आगामी असोज २९ गते १३ औं वार्षिक साधारणसभा(एजीएम) आह्वान गरेको छ । 

यो बैंकको असोज ४ गते बसेको संचालक समितिको ३३८ औं बैठकको निर्णयअनुसार काठमाण्डौको नक्सालस्थित नक्साल ब्याङ्वेटमा आफ्नो १३ औं वार्षिक साधारणसभा आह्वान गरेको हो । 

साधारणसभामा आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट संचालक समितिले प्रस्ताव गरे अनुसार १६ प्रतिशतको बोनस सेयर विरतणको विशेष प्रस्ताव पेश हुनेछ । बैंकले कुल १ अर्ब १० करोड ३६ लाख २१ हजार ४ सय ४० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । 

यस्तै, बैंकको जारी तथा चुक्तापूँजी वृद्धि, बैंकका संचालक तथा अध्यक्षको पदावधि सम्बन्धी व्यवस्था लगायत अन्य व्यवस्था संसोधनका लागि नियमावली स्वीकृत लगायतको प्रस्तावहरु समेत पेश हुनेछन् । यस्तै, १३ औं वार्षिक साधारणसभाका लागि संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७४ साल असार मसान्तको वासलात, नाफानोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने, बैंकको सहायक कम्पनी सानिमा क्यापिटलको आर्थिक वर्ष २०७३/७४ को बित्तीय विवरवणसहितको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने लगायतका एजेण्डा समेत रहेका छन् । यस्तै, संस्थापक समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्न ३ संचालकको निर्वाचन समेत हुने बैंकले जनाएको छ । 

यो बैंकले साधारणसभा प्रयोजनका लागि असोज ६ गते एकदिन बैंकको सेयरधनी दर्ता किताब बन्द गरेको थियो । यसको अर्थ असोज ४ गतेसम्म कारोबार भई सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र साधारणसभामा सहभागी हुन तथा बोनस सेयर पाउन सक्नेछन्।