– अर्जुन तिमिल्सिना

काठमाण्डौ । यो साता सेयर बजारमा ६ दिन कारोबार भएको छ। जसमा बजार ४ दिन घट्यो भने २ दिन बढ्यो। 

गत साता १९३७.७४ अंकमा बन्द भएको बजार यो साता १९१०.३८ मा बन्द भएको छ। यो हिसाबले बजारमा यो साता २७.३६ अंकको गिरावट आएको छ। गत साता पनि बजारमा ३३ अंकले गिरावट आएको थियो। 

यो साताभरि सेयर बजारमा ६ अर्ब ८७ करोड ७० लाख रुपैयाँबराबर कारोबार भएको छ। गत साता ४ अर्ब ९५ करोड रुपैयाँबराबरको मात्रै कारोबार भएको थियो। 

प्राविधिक पक्ष 

इलिअट वेभ र फिवोनासीका आधारमा 

बजारलाई इलिअट वेभमार्फत गएको १ वर्षलाई नियाल्दा माइनर डिग्रीको वेभ १ करेक्सन भएर लगभग २२६० तथा वेभ २ बढोत्तरीका साथ २९८० सम्म र वेभ ३ मा ठूलो गिरावटका साथ १८०६ सम्म आएको देखिन्छ। वेभ ४ बनाउन बजार २२२३ सम्म पुगेको र अब वेभ ५ बनाउन बजार पहिलेकै न्यून विन्दु १८०६ अथवा त्योभन्दा पनि केही अंक तल आउन सक्ने देखिन्छ। यसलाई थप पुष्टि अघिल्लो आधार विन्दु ११०० देखि हालको उच्च विन्दु ३२०० सम्म गएको तीन वर्षको समयावधिलाई फिवोनासी तानेर हेर्दा ०.६१ प्रतिशतको विन्दु १९३८ को आसपासमा पर्ने गर्छ। 

यदि बजार १९०० भन्दा माथि–माथिबाटै फर्किन्छ भने लगभग करेक्सन पूरा भएको मान्न सकिन्छ। वैकल्पिक रुपमा यदि बजार ०.६१ प्रतिशतबाट फर्किंदैन भने ०.७८ प्रतिशतको अर्को विन्दु भनेको १६०० हुन आउँछ। (हेर्नुहोस् माथि मुख्य तस्बिरमा)

बोलिंगर ब्यान्डका आधारमा 

साप्ताहिक चार्टमा बजारलाई बोलिंगर ब्यान्डमार्फत नियाल्दा ब्यान्डको तल्लो विन्दु १८०६ बाट माथिको यात्रा तय गरेको देखिन्छ। यो विन्दुबाट बढेको बजारले ब्यान्डको मध्य विन्दु २२२४ मा प्रतिरोध सामना गरेको छ (हेर्नुहोस् रातो एरो)।  यहाँबाट खसेको बजार पुनः तल्लो विन्दुतर्फ आकर्षित हुँदै गरेको देखिन्छ। (हेर्नुहोस् कालो एरो)

म्याक्डीका आधारमा 

साप्ताहिक चार्टमा नै बजारलाई म्याक्डीमार्फत हेर्ने हो भने गत २२ जुलाईमा बनेको बुलिस क्रसओभर अझै भ्यालिड नै रहेको छ। तर, हिस्टोग्राम सकारात्मक भए पनि फिक्का र छोटा–छोटा हुँदै गएका छन्। एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट क्रस गर्दै गरेको देखिन्छ। (हेर्नुहोस् कालो एरो)

आरएसआईका आधारमा 

साप्ताहिक चार्टमा नै बजारलाई आरएसआईमार्फत हेर्दा हाल ३४ को जोनमा रहेको देखिन्छ। अघिल्लोपटक यस्तो आरएसआई २६ को ओभर सोल्ड जोनमा आएर माथिको यात्रा तय गरेको देखिन्छ।

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– २१४२
  • प्रतिरोध २– २३११
  • प्रतिरोध ३– २३९८

पिभट प्वइन्टः २०५५

घटेमा सपोर्ट 

  • सपोर्ट १– १८८६
  • सपोर्ट २– १७९९
  • सपोर्ट ३– १६३०

निष्कर्ष

साप्ताहिक रुपमा गएको ४ साताको अवस्थालाई नियाल्दा बजारको घट्ने क्रम विस्तारै कमी हुँदै गएको देखिन्छ। कारोबार ताथ भोलुममा भने कुनै सुधार देखिँदैन। बजार १९०० कै विन्दुभन्दा माथि टिकेर केही समय कारोवार भएमा बजारको बटम प्वइन्ट यही नै हुन पनि सक्छ। विविध कारणले यदि बजारमा थप दबाब रहेको खण्डमा भने बजारले पहिलेको बटम प्वइन्टलाई नै छुन आउन पनि सक्नेछ। 

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। लगानीकर्ताले आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेरमात्र लगानी गर्नुपर्छ। यो कारोबारका लागि सिफारिस भने होइन।