काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई साउथ एसियन फेडरेसन अफ अकाउन्टेन्ट्स (साफा), २०१९ का लागि सार्वजनिक क्षेत्रको विधाअन्तर्गत सर्वश्रेष्ठ प्रस्तुत वार्षिक प्रतिवेदनमा दोस्रो रनर अपका रूपमा सम्मानित गरिएको छ। 

एनसीएचएलले आर्थिक वर्ष २०७५/७६ का लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदन र यसको वित्तीय तथा कर्पोरेट गभर्नन्ससँग सम्बन्धित मूल्यांकनका आधारमा सो पुरष्कार प्रदान गरिएको हो। उक्त पुरस्कार बुधबार साफाद्वारा हस्तान्तरण गरिएको थियो। जुन श्रीलंकाको इन्स्टिच्युट अफ चार्टर्ड अकाउटेन्ट्स (सीए श्रीलंका) द्वारा आयोजित भर्चुअल कार्यक्रममा हस्ताक्षर गरिएको थियो।

यस वर्ष इस्टिच्युट्स अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान) द्वारा आयोजना गरिएको आईक्यान बेस्ट प्रिजेन्टेड्ड अवार्ड (बीपीए), २०१९ मा पहिलो स्थान पाएपश्चात एनसीएचएलको केस आईक्यानले साफामा पठाएको थियो। एनसीएचएल गत वर्ष पनि साफाद्वारा मेरिट सर्टिफिकेटका साथ पुरस्कृत भएको थियो र यस बर्ष दोस्रो रनरअप भएर आफ्नोे प्रदर्शनमा सुधार ल्याएको छ।

कर्पोरेट गभर्नेन्स तथा पारदर्शितालाई सधैँ आत्मसात गर्दै आएको एनसीएचएल नेपाल राष्ट्र बैंक तथा बैंक वित्तीय संस्थाहरुद्वारा प्रवद्र्धित कम्पनी हो। सर्वसाधारणबीच डिजिटल भुक्तानी कारोबारको क्षेत्रमा विश्वसनीयता कायम गर्न पारदर्शिता निकै महत्वपूर्ण रहेको एनसीएचएलको विश्वास छ।

एनसीएचएलले हरेक वर्ष पारदर्शी रुपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तीय डिस्क्लोजरतर्फको प्रतिबद्धताको सम्मानस्वरुप उक्त अवार्डलाई लिएको छ। 

नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी एनसीएचएलको एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस, कनेक्ट आईपीएस ई–पेमेन्ट, कनेक्ट आरटीजीएस, नेसनल पेमेन्टन्स इन्टरफेस (एनपीआई) र कर्पोरेट पे प्रणाली सञ्चालनमा छन्। साथै यसले आफ्ना भुक्तानी प्रणालीहरुमा बैंक तथा वित्तीय संस्थाहरूवाहेक विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पीएसपी/पीएसओ, सरकारी तथा अर्धसरकारी संस्थाहरुलाई इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध गराई सेवा प्रदान गर्दै आएको छ।