काठमाण्डौ। ऊर्जा डेभलपर्सको सम्बद्ध संस्था सामलिङ्ग पावर कम्पनीद्वारा इलाम जिल्लामा निर्माण सम्पन्न ९.५१  मेगावाट क्षमताको माइबेनी जलविद्युत आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ।

ऊर्जा डेभलपर्सको नेपालमा नवीकरणीय ऊर्जा विकास गर्ने उद्देश्यको पहिलो सफलताका रुपमा माइबेनीले विद्युत खरिदबिक्री सम्झौता (पीपीए) बमोजिम व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मितिभन्दा दुई महिनाअगावै व्यापारिक उत्पादन सुरु गरेको हो। नेपाल विद्युत प्राधिकरणको प्रतिनिधिको रोहवरमा विभिन्न चरणको परीक्षणका कार्यहरु सम्पन्न गर्नुका साथै १५ दिनको परीक्षण उत्पादनसमेत सफलतापूर्वक सम्पन्न गरेपश्चात आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ। यसका साथै माइबेनीले वार्षिक ५३.२८ गिगावाट घन्टा विद्युतीय ऊर्जा राष्ट्रिय प्रणालीमा थप योगदान गर्ने भएको छ।

माइबेनी जलविद्युतले प्रभावित क्षेत्रका वासिन्दाका लागि गत भदौ १८ गतेदेखि असोज १ गतेभित्र आवेदन दिन सकिने गरी निष्काशन तथा बिक्रीका लागि खुल्ला गरिएको ५ लाख कित्ता आईपीओमा लक्ष्यभन्दा ३. ६३ गुणा बढी आवेदन प्राप्त भएको छ।  

त्यस्तै, आयोजनाको कुल १२ लाख ३० हजार कित्ता आईपीओमध्ये थप ७ लाख ३० हजार कित्तासमेत सर्वसाधारणका लागि बिक्री खुल्ला गर्ने तयारीमा कम्पनीको छ। कर्मचारीका लागि १४ हजार ६०० कित्ता, सामूहिक लगानी कोषका लागि ३६ हजार ५०० र सर्वसाधारणका लागि ६ लाख ७८ हजार ९०० कित्ता सेयर प्रभावित क्षेत्रमा वासिन्दाका लागि छुट्याइएको आईपीओको बाँडफाँड कार्य सम्पन्न गरेपश्चात निष्काशन तथा बिक्री खुल्ला गरिने कम्पनीले जनाएको छ।