काठमाण्डौ । हुवावे यो वर्षको दोस्रो त्रैमासमा पहिलोपटक विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन कम्पनी बन्न सफल भएको छ।

विश्व प्रविधि बजारको विश्लेषण गर्दै आएको क्यानालिसको नयाँ प्रतिवेदनअनुसार यो अवधिमा हुवावेको स्मार्टफोन बिक्रीमा व्यापक उछाल आएसँगै विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन कम्पनी बन्न सफल भएको हो। अमेरिकाको प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय बजारमा व्यापार खस्कीपछि कम्पनीको अधिकांश बिक्री चीनमा भएको हो। 

रिपोर्टका अनुसार कम्पनीले ५५.८ मिलियन युनिट फोन बजारमा पठाएको छ। जुन गत वर्षको भन्दा ५ प्रतिशत बढी हो। 

त्यस्तै यसअघि पहिलो स्थानमा रहेको सामसुङले ५३.७ मिलियन युनिट स्मार्टफोन बजारमा पठाएको थियो। जुन गत वर्षको तुलनामा ३० प्रतिशत कम हो। 

धेरै वर्षको प्रयासपछि हुवावेले एउटा त्रैमासमा पहिलो स्थानमा ओगेटेको यो पहिलो पटक हो। तर अमेरिकाको प्रतिबन्धका कारण ओभरसिज बजारमा कम्पनीको व्यापार प्रभावित बनेकाले अहिले देखिएको प्रगति दिगो हुनेमा विश्लेषकहरुले आशंका प्रकट गरेका छन्। 

दोस्रो त्रैमासमा हुवावेले आफ्नो ७० प्रतिशत स्मार्टफोन मुख्यभूमि चीनमा बिक्री गरेको छ। सोही अवधिका कम्पनीको अन्तर्राष्ट्रिय निर्यात भने २७ प्रतिशतले घटेको छ। 

त्यस्तै दोस्रो त्रैमासमा हुवावेको मुख्य बजार युरोपमा कम्पनीले आफ्नो १६ प्रतिशत बजार हिस्सा गुमाएको छ। गत वर्षको सोही अवधिका कम्पनीले २२ प्रतिशत बजार हिस्सा गुमाएको थियो। 

हुवावे युरोपमा सामसुङ र एप्पलपछि तेस्रो ठूलो स्माटफोन निर्माता कम्पनी हो। तर विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनमा आफ्नो बजार विस्तार गर्दै कम्पनीले विश्वको अग्रणी स्मार्टफोन निर्माता बन्न सफल भएको छ। 

चीनमा मात्रै आफ्नो उपस्थिति बलियो बनाउँदा कम्पनीेलाई दीर्घकालसम्म यो सफलता टिकाइराख्न मुश्किल पर्ने विज्ञहरुले बताएका छन्। गत वर्ष अमेरिकाले हुवावेलाई कालो सूचीमा राखेकाले अमेरिकी प्रविधिसँग यसको पहँुच प्रतिबन्धित गरिएको छ। यसको अर्थ हुवावेले आफ्नो फ्ल्यागसिप उपकरणहरुमा लाइसेन्स प्राप्त गुगल एन्ड्रोइड प्रयोग गर्न सक्दैन। 

चीनमा गुगल सर्भिसेस जस्तै– जिमेल र यसका सर्च इन्जिन ब्लक गरिएका भएकाले चिनियाँ उपभोक्तालाई यसले खासै प्रभाव पार्दैन। तर अन्तर्राष्ट्रिय बजारमा गुगल नभएको फोन बिक्री गर्नु एकदमै ठूलो चुनौती हो। यही कारण अहिले पनि आफ्ना उपकरणमा एन्ड्रोइड प्रयोग गर्न सफल भइरहेका हुवावेका प्रपिस्पर्धीहरुको बजार हिस्सा वृद्धि भएको छ। उदाहरणका लागि चिनियाँ फोन निर्माता कम्पनी जियोमीले युरोपमा सन् २०१९ को दोस्रो त्रैमासमा बजार हिस्सा ६ प्रतिशले बढाएको थियो। यो वर्ष जियामीले युरोपमा आफ्नो बजार हिस्सा १३ प्रतिशत पुर्याएको छ। 

गत वर्ष हुवावे आफ्नो बेग्लै अपरेटिङ सिस्टम हार्माेनी ओयस ल्याउन बाध्य बनेको थियो। तर एप स्टोरमा केही मुख्य एपहरुमा ग्राहकको पहुँच नपुग्ने भएकाले विश्लेषकहरुले अन्तर्राष्ट्रिय बजारमा यसको सफलतालाई लिएर पहिले नै आशंका व्यक्त गरिसकेका छन्। – एजेन्सी