– अर्जुन तिमिल्सिना

काठमाण्डौ। अघिल्लो दुई हप्ता लगातार घटेको सेयर बजार यो साताको पहिलो दिन नै उकालो लागेको छ। 

एकातिर मुलुकमा बढ्दो कोरोना संक्रमण दरले सन्त्रास फैलाइरहेको छ भने अर्कोतिर सेयर बजार बढ्दा लगानीकर्तामा उत्साह थपिएको छ। सेयर बजारको महौलले कोरोनाबाट सिर्जित घाउमा महल दल्ने काम गरिरहेजस्तो देखिन्छ। 

सामाजिक सञ्जालहरुमा यतिबेला कि त कोरोना कि सेयर बजारकै चर्चा छ। सेयर बजारकै कुरा गर्ने हो भने कसैले प्राविधिक विश्लेषकलाई बजार घट्छ भनेकोमा बढेको भन्दै प्रश्न उठाएका छन् भने कसैले अब के होला, कतिसम्म बढ्ला र कस्तो इस्क्रिप्ट छान्ने भनेर सोधेका पाइन्छ।

सामाजिक सञ्जालमा सेयर बजारका मामा उपनामले परिचत एक लगानीकर्ताले भोलुमले साथ दिँदै बजारले युर्टन लियो, अब बजार पस्नैपर्ने निष्कर्ष निकालेका छन्। उनैको विचरलाई धेरै लगानीकर्ताले सहमत जनाएका छन्। 

त्यसैगरी सामजिक सञ्जालमा चर्चित लगानीकर्ता दुर्गाप्रसाद काफ्लेले बजार ३५०० विन्दु पुग्छ भनेको भिडियो सार्वजनिक भएको छ। उनले उक्त भिडियोमा भनेका छन्, ‘जसले जे भने पनि नेपालको सेयर बजार यही दोस्रो लकडाउनमा अल टाइम हाई बन्दै ३५०० को बिन्दु पार गरेर उछाल आउनेछ।’ 

काफ्लेले राम्रा–राम्रा कम्पनीमा यही लकडाउनमा सर्किट लाग्ने दाबी गरेका छन्। आफ्नो फेसबुक पेजमा उनले अब इन्डेक्ससँगै कारोबार भोलुमा पनि यही लकडाउनको समयमा १५ अर्ब रुपैयाँको हुने तर्क पनि गरेका छन्।

सामाजिक सञ्जालमै महिला लगानीकर्ता ईश्वरा शिवाकोटीले भनेकी छन्, ‘बजार अब हल्का करेक्सन हुँदै बुलिसमा नै जान्छ ।’ बजार बढ्नुमा कम्पनीको तेस्रो क्वाटरको रिपोर्ट राम्रो आउनु, लगानीका अन्य सेक्टर तत्काल नदेखिनु, कोभिडको प्रभाव रहेको उनको भनाइ छ। 

लगानीकर्ता अमिर तिमिल्सिनाले ठोकुवा गर्दै बजार अब विस्तारै उकालो नै लाग्ने बताएका छन्। ‘अहिलेको पुँजी बजारलाई सबै वातावरणले साथ दिएको छ’, उनले लेखेका छन्, ‘सबैभन्दा राम्रो विषय त पुँजी बजार पहिले सीमित व्यक्तिको हातबाट नयाँ लगानीकर्ताको हातमा पुगेको छ। जुन बजारको राम्रो पक्ष हो। अब बजारलाई नयाँ लगानीकर्ताले नै माथि पुर्याउँछन्।’

तिमिल्सिनाले बोनस दिने राम्रा र बलिया कम्पनी छानेर लगानी गर्न पनि साना लगानीकर्तालाई सुझाएका छन। 

अर्का लगानीकर्ता मोहन बस्यालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धेरैजसोले बजार बढ्छ भनेर किनेका छन्, यसमा प्रमुख आधार तेस्रो क्वार्टरको  रिपोर्ट राम्रो आउनु, अहिले किनेको सेयरको डिभिडेन्ड छिट्टै खाना मिल्ने र एफडीमा राखेको ब्याजभन्दा बजारबाट प्रतिफल बढी आउने अनुमान गरेका छन्।’

लगानीकर्ता रोहन कार्कीले अब बजारमा पहिलाको जस्तो बियरिसको अवस्था नआउने तर्क सामाजिक सञ्जालमा पेस गरेका छन्। ‘बियरिस ट्रन्ड आए पनि अनलाइनले गर्दा पहिलाको जस्तो बियरिस हुँदैन’, उनले लेखेका छन्, ‘कोरोनाका कारण अन्य क्षेत्र संकुचन भएकाले यतिबेला सेयर बजार लगानीका लागि राम्रो विकल्प रहेको छ।’

सामाजिक सञ्जालमै चर्चित लगानीकर्ता सेयर बजारका काकाले आजको कारोबारमा भोलुमले पनि साथ दिएको तर्क गरेका छन्। उनले लगानीकर्तालाई हरियोमा बेच्न र रातोमा किन्न पनि सुझाएका छन्। 

त्यसैगरी सामाजिक सञ्जालमै बजार गुरु नामका लगानीकर्ताले आफूलाई बजार घट्ला कि भन्ने कुनै पनि चिन्ता नरहेको तर्क गर्दै लेखेका छन्, ‘मैले वार्षिक २० प्रतिशत नाफा दिने कम्पनी किनेको छु, लगानीका अन्य क्षेत्र संकुचन हुँदा लगानीकर्ता सेयर बजारमै आएकोले बजार अझै बढ्छ। सेयर बेच्नेले बजार घट्छ भन्नु र होल्ड गर्नेले अझै बढ्छ भन्नु सामान्य हो।’ 

सामाजिक सञ्जालमा राजु पौडेलले बजार बढ्नुका प्रमुख कारण लेखेका छन्। उनले बजार बढ्नुका प्रमुख कारण लगानी कर्ताको मनोबल बढ्नु , कोरोनाको कहरले अन्य क्षेत्रमा लगानी खुम्चिनु धेरै नयाँ लगानी कर्ताको बजार प्रवेश, अधिक कम्पनीहरुको तेस्रो त्रैमासिक रिपोर्ट आकर्षक आउनु, बैंकका आधार दर घटेको घटै गर्नु नै रहेको उल्लेख गरेका छन्।