– अर्जुन तिमिल्सिना

काठमाण्डौ । देशमा निषेधाज्ञा जारी भएसँगै सेयर लगानीकर्तालाई अब छलफलको एउटामात्रै चौतारी सामाजिक सञ्जाल बनेको छ। 

अहिले डिजिटल माध्यमबाटै सबै कारोबार गर्न सक्ने हुनाले लगानीकर्तालाई ब्रोकर हाउससम्म जान आवश्यकता पनि छैन र सम्भव पनि छैन। लगानीकर्ताले विभिन्न ग्रुप बनाएर अहिले सामाजिक सञ्जालमा सेयरका विषयमा छलफल सुरु गरेको पाइन्छ। 

सामाजिक सञ्जालमा भेटिएका तिनै विचार तथा बहसलाई हामीले यहाँ प्रस्तुत गर्ने जमर्को गरेका छौँ।

सामाजिक सञ्जालमा सक्रिय युवा लगानीकर्ता रोहन कार्की लेख्छन्– ‘मलाई धेरै लगानीकर्ताले बजार अब कुन दिशामा जान्छ भनेर सोध्छन्। यो जबाफको उत्तरभन्दा पहिले हामीले के बुझ्नुपर्छ भने बजार किन बढ्छ र अहिले मैले कति लगानी गर्न उत्तम हुन्छ ?’

सेयर बजारमा गरेको लगानी सहज रुपमा लगाउन र झिक्न पाइने, कर्मचारी तथा कोठा भाडामा लिनु नपर्ने, पूर्ण रुपमा अहिले अनलाइन प्रविधि भएको ११ देखि ३ बजेसम्मको अनुकूल समय रहेको उल्लेख गर्दै कार्कीले लगानीका लागि एक सय एक कम्पनी बजारमा रहेको बताउँछन्। ‘बैंकको ब्याज दर र बेस रेट कम छ, अझै घट्ने सम्भावना छ’, उनले लेखेका छन्, ‘अबको ३ महिनामै लाभांश पाइन्छ, लगानीकर्ताको सहभागिता उल्लेखनीय रुपमा बढेको छ र धेरै कम्पनीको सेयरमूल्य अहिले पनि अन्डरभ्यालु भएकोले सेयर बजारको भविष्य उज्ज्वल देखिन्छ।’

सामाजिक सञ्जालमै राजकुमार शाक्य र लक्क्षमण बिष्ट लेख्छन्, ‘राजनीतिले सेयर बजारलाई सीमित समयमात्रै प्रभाव पार्ने भएकोले केही दिनमै बजार बुम हुन्छ।’

अर्का लगानीकर्ता शौरभ भण्डारी लेख्छन्, ‘राजनीति सेयर बजारमा विस्तारै  चल्ने हावा हो, थोरै हल्लाउला तर बजार विस्तारै माथि नै जान्छ। अब असिनापानी पर्दैन।’

ज्ञान गौचन र किरण राज सुवेदीले लेख्नछन्, ‘जो आए पनि अर्का युवराज आउँदैनन्, बजारलाई खासै असर गर्दैन।’

सामाजिक सञ्जालमा दीपक आचार्य लेख्नछन्, ‘नेपालको राजनीतिक माहोलबाट डराउनुपर्दैन भन्ने कुरा सबैले बुझिसके।’

सामाजिक सञ्जालमै बाबुराम रिजालले भने फरक मत राखेका छन्। उनले लेखेका छन्, ‘सेयर बजारमा इतिहास दोहोरिन्छ, करोडपति रोडपति पनि हुन सक्छ। बजार फेरि एकपल्ट १८८१ सम्म पनि आउन सक्छ।’

प्रह्लाद पोखरेल लेख्छन्, ‘राजनीति सधैँ लुछाचुडी हो, त्यसैलाई देखाएर सोझासीधाले सधैँ सेयरमा किन गुमाउँछन् ?’

नरबहादुर बिष्ट लेख्छन्, ‘अहिले आकाश खस्ने गरी केही बिग्रेको छैन, डराउन पर्दैन।’

सामाजिक सञ्जालमै नवीन अधिकारी र हरिप्रसाद खकुरेल लेख्छन्, ‘केही समय घट्छ, राम्रो सेयर उठाउने मौका हुन्छ। अरु खास कारण केही छैन। बजार माथि नै जाने हो। केही समयका लागि लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्।’

रुपचन्द्र खत्री राजनीति र देशको अर्थतन्त्र पारस्परिक सम्बन्ध हुने लेख्छन्। ‘देशको स्तम्भका रुपमा सेयर बजारलाई लिन सकिन्छ’, उनी लेख्छन्, ‘वर्तमान राजनीतिले सेयर बजारमा केही प्रभाव परे पनि ठूलो गिरावट होला भन्ने लाग्दैन।’

सामाजिक सञ्जालमै सक्रिय लगानीकर्ता अर्जुन पराजुली लेख्छन्, ‘सरकार ढल्न सक्छ। त्यसको असर बजारलाई केही पर्दैन। जसको सरकार आए पनि युवराज खतिवडा र बाबुरा भट्टराईजस्तो कोही पनि आउँदैनन् र आए पनि टिक्दैनन्।’