– अर्जुन तिमिल्सिना

काठमाण्डौ । यो साता पनि सेयर बजार गति सुरुआत गरेको छ। आज आइतबार नेप्से परिसूचक र कुल कारोबार कित्ता संख्याको नयाँ कीर्तिमान बनेको छ। 

बजारले अलटाइम हाई रेकर्ड ब्रेक गरेसँगै लगानीकर्तामा उत्साह देखिएको छ। सामाजिक सञ्जालमा लगानीकर्ता सुरेश कर्मचार्यले बजार बढ्ने ३ वटा आधार औँल्याएका छन्। उनले लेखेका छन्, ‘ पहिलो अब देशमा केही समयका लागि स्थिर सरकार, दोस्रोमा चुनावी माहोल र तेस्रोमा जेठ १५ गते आउने आगामी वर्षको बजेट सेयर बजार लगानीमैत्री हुनेछ।’

कर्मचार्यको विचारमा सहमत हुँदै पवित्र शिल्पकारले लेखेका छन्, ‘अब बजार बुल बाटोमा।’ 

लगानीकर्ता अशोक अधिकारीले आफ्नो टाइम लाइनमा व्यंग्य गर्दै लेख्छन्, ‘सेयर बजारमा पेनिक सेलर भन्ने सुनिएको थियो तर आज भोगियोजस्तै लाग्दैछ।’ 

सामाजिक सञ्जालमै दासुराम घिमिरेले प्रश्न राखेका छन्, ‘सबैले बैंक बढेन बढेन भन्छन्। ५–७ दिन नबेचे के हुन्छ ?’

घिमिरेको जबाफमा जगदीश लामिछाने लेख्छन्, ‘डायमन्ड हुन्छ।’ 

घिमिरेकै प्रश्नको जबाफमा कुमार रिजाल लेख्छन्, ‘जलविद्युत कम्पनी त डबल भएका छन्, आफैँ विचार गर्नुहोस् १५–२० प्रतिशत दिने बैंक कति पुग्लान् ?’ 

अर्का लगानीकर्ता शिवचन्द्र सामाजिक सञ्जालमा लेख्छन्, ‘बजारमा व्याप्त भ्रम चिर्दै आज फेरि नेपालको सेयर बजारमा इन्डेक्सले नयाँ इतिहास रचेको क्षण।’ 

शिवचन्द्रको पोस्टमा फरक जबाफ दिँदै विमल न्यौपाने लेख्छन्, ‘नयाँ र यसो देखे–सुनेको भरमा बजार छिरेका लागानीकर्ता जहिल्यै यस्तै गर्छन्। सुटुक्क पैसा गुमाउँछन् अनि फेसबुकमा मार्केट क्र्यास भनेर लेख्छन्।’ 

लागानीकर्ता बादल बस्नेत लेख्छन्, ‘सेयर बजार कुनै नेताको कृपा अथवा राजनीतिक आइडियोलोजी, निर्णय वा पार्टीले बढाएको होइन र यस्तो राजनीतिक परिवर्तनले बजारमा खासै ठूलो नकारात्मक असर  गर्दैन। यो जनताको लगानीले बढेको स्वोतन्त्र बजार हो, यसको घट्ने र बढ्ने आफ्नै लय छ।’ 

त्यसैगरी सामाजिक सञ्जालमै रवीन्द्र भट्टराई लेख्छन्, ‘चाल बजारको हुन्छ, निर्णय आफ्नो।’ 

भट्टराईको स्ट्याटसमा जबाफ दिँदै बल्लभ तिमिल्सिना लेख्छन्, ‘यो पालि नेप्से ३५०० कट्ला कि ?’

सामाजिक सञ्जालमै विवेकशील लगानीकर्ताको नाममा व्यंग्य गर्दै लेखिएको छ, ‘फेसबुकमा किन्ने र होल्ड गर्नेमात्रै भेटिन्छन्, बेच्ने चाहिँ मार्केट डेप्थमा भेटिन्छन्।’ 

टिडी शर्मा आफ्नो पोस्टमा लेख्छन्, ‘तल्लो लेभललाई मजबुत पार्दै बजार अघि बढेकोले बजार दिगो हुने देखिन्छ। अझै बटम लेभलका केही कम्पनी तलै रहेकोले केही समय सस्ता स्क्रिप्टले नै बाजी मार्ने अनुमान लगाउन सकिन्छ। दोस्रो बजारमा ३०० मुनिका सेयर नपाइने भएपछि मात्रै बजारमा बुल आएको अनुभव हुन्छ।’ 

सामाजिक सञ्जालमै विष्णुप्रसाद बस्यालले इलिअट वेभ थेउरीको चित्र राख्दै लेखेका छन्, ‘अरुले के भन्छन् भनेर मतलब नराख। सेयर बजारको प्याट्रनलाई हेर र आफूलाई विश्वास गर। तिमी त्यतिबेला बजारबाट बाहिरै बस जब अरुले बजार कहिल्यै झर्दैन र माथि–माथि जान्छ भन्छन्। तिमी त्यतिबेला खरिदका लागि जम्प गर जब अरु अत्याधिक डराएका हुन्छन्।’