– अर्जुन तिमिल्सिना

काठमाण्डौ । साताको पहिलो दिन आइतबार सेयर बजारमा रौनकता कायमै रह्यो। अघिल्लो दिन आएको आगामी आर्थिक वर्षको बजेट र बजेटमा व्यवस्था गरिएको पुँजीगत लाभकरको विषयले सामाजिक सञ्जालमा चर्चा तथा परिचार्चा पायो। केहीले यो स्वभाविक माने भने कसैले अप्रत्यासित भने। 

सरकारले ल्याएको बजेटमा अल्पकालीन तथा दीर्घकालीन लगानी छुट्टाएर पुँजीगत लाभकरको व्यवस्था गरेको छ। जसमा अल्पकालीनका लागि २.५ प्रतिशत कर बढाएपछि सामाजिक सञ्जालदेखि सर्वत्र बजारमा अब के हुने हो भनेर चासो थियो। तर दिनभरको उत्तारचढावका बीच अन्त्यमा उच्च कारोबारले बजार सकारात्मक भएपछि सामाजिक सञ्जालमा पनि लगानीकर्ताबीच खुसियाली छाएको छ।  

लगानीकर्ता रोह शर्मा फेसबुकमा लेख्छन् ‘बजार धेरै नै फराकिला र मजबुत भएको अनुभव गरियो आज। बाहिर हल्लालाई सबै पैतालामुनि राख्दै बजारले दैनिकजसो नयाँ–नयाँ रेकर्ड बनाइरहेको छ। सबै लगानीकर्ताको मनोबल बलियो र उच्च छ।’

शर्मा अगाडि लेख्छन्, ‘नेपालमा मात्रै नभएर विदेशमा रहेका नेपालीको पनि सेयर बजारमा उत्तिकै क्रेज छ। जुन अति नै खुसी र सुन्दर पाटो हो। मेरो विचारमा नेपालको सेयर बजारमा गोल्डेल युग बल्ल सुरु भएको छ।’

अर्को कुरा अहिलेसम्म नेपालको सेयर बजारमा चल्दै आएको ४८ महिने बुलिस र ४३ महिने बियरिसको ट्रेन्ड सम्भवतः यसपालिदेखि अन्त्य हुने शर्माको अनुमा छ। ‘किनकि पहिलेजस्तो अहिले सीमित व्यक्तिको हातमा सेयर बजार छैन’, उनले लेखेका छन्, ‘अहिले बजारमा अल्पकालीन लगानीकर्ताको हावी बढी छ। उनीहरुमा अनुभवको कमी होला तर ज्ञानको अभाव छैन। विस्तारै इन्ट्रा डे टे«डिङको पनि सुरुआत हुँदैछ, त्यसैले बजार बढ्नुको विकल्प छैन।’  

शर्माको भनाइमा सहमत जनाउँदै माधव शर्माले कमेन्ट गरेका छन्, ‘अबको नेप्सेको यात्रा निकै लामो देखिन्छ।’

फेसबुकमै नारदमणि घिमिरेले लेखेका छन्, ‘अन्य क्षेत्रको तुलनामा वाणिज्य बैंकको सेयर सस्तो हुँदै गएको छ।’ 

घिमिरेको स्ट्याटसमा सन्जु गुरुङ जबाफ लेखेका छन्, ‘वाणिज्य बैंकमा ७–८ रुपैयाँ बढेमा बिक्रेता ह्वात्तै आउँछ अनि कसरी बढोस ?’  

सामाजिक सञ्जालमा व्यंग्य गर्दै सागर भुसालले लेखेका छन्, ‘एक दिन पानी बन्द भएको के थियो हाइड्रोजति आफ्नै लयमा फर्किन थाले, नदीनालामा धनी राष्ट्र भनेको त खहरे खोलामा पो रहेछ नि।’ 

भुसाललाई पनि व्यंग्यात्मक जबाफ दिँदै त्रिचन्द्र श्रेष्ठले लेख्छन्, ‘सानातिना खहरे खालामा बन्न लागेका हाइड्रोले बिजुली उत्पादन बिना नै कसरी १०–२० प्रतिशत लाभांश दिए भनेको त माछा पालेर पो रहेछ।’ 

लगानीकर्ता नारदमणि घिमिरेले भने अहिले बढाइएको अल्पकालीन लगानीको पुँजीगत लाभकरको खुलेर स्वागत गरे। अर्का लगानीकर्ता टिडी शर्माले लेखेका छन्, ‘अल्पकालीन बजारको कारोबारमा ५० प्रतिशतमा वृद्धिलाई मतलब नगर्नुले अब प्रस्ट हुन्छ, बजारको बाटो अब सानोतिनो हुरीले छेक्न सक्दैन। यस्ता प्रतिकूल अवस्थालाई सजिलै पचाउनु भनेको बजार बुलिस छ भन्ने हो।’