– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेप्से परिसूचकले आज नयाँ कीर्तिमान कायम गरेको छ। नेप्सेले २९०६ को विन्दु चुमेको छ। जुन हालसम्मकै उच्च हो। 

कारोबार रकमले पनि आज नयाँ कीर्तिमान रच्यो। आज एकैदिन १७ अर्ब २७ करोड रुपैयाँ बढीको सेयर किनबेच भयो। 

नेप्से र कारोबार रकमले नयाँ कीर्तिमान कायम गरेकै दिन वाणिज्य र विकास बैंक समूहमा उछाल आएको छ। यसले लगानीकर्ताहरु पनि सुरक्षित लगानीतर्फ आकर्षित भएको देखिन्छ। 

बजार जानकारहरु लगानीकर्ताहरुले अबको लगानी प्रतिफलमा आधारित भएर गर्न थालेको बताउँछन्। अहिले गरिएको लगानीबाट ४–६ महिनामै प्रतिफल पाइने हुँदा पनि लगानीकर्ता अब बैंकतिर आकर्षित हुन थालेको उनीहरुको बुझाइ छ। 

अब बजारमा करेक्सन भयो भने आगामी असार मसान्तको प्रभावले ५०–१०० अंकसम्म हुन सक्ने तर त्योभन्दा बढी अहिलेको अवस्थामा हुन नसक्ने विश्लेषकहरु बताउँछन्। 

सेयर बजारकै विषयमा सामाजिक सञ्जालमा सेयर विश्लेषक रवीन्द्र भट्टराई लेख्छन्, ‘सेयेर बजार कहिले उकाली–ओराली, कहिले तल–माथि त कहिले उत्तर–दक्षिण गर्छ। सेयर बजार कहिले दौडिन्छ, कहिले घ्रिसिन्छ। यसले बाटो पछ्याउँदैन। बाटो बनाउँछ तर कस्तो बाटो बनाउँछ, त्यो भविश्यले मात्रै भन्ने छ।’

भट्टराईको विचारमा बजारको भविष्य कस्तो हुन्छ, त्यो अहिले नै भन्न गाह्रो छ ‘मात्र अनुमान गर्न सकिन्छ, ठोकुवा गर्न सकिँदैन। हिजोजस्तो बाटो बनायो भनेर भन्न सजिलो छ तर भोलि बनाउने बाटोका बारेमा भन्न गाह्रो छ’, उनले लेखेका छन्, ‘सेयर बजारमा सपना बुन्न जति सजिलो छ, पूरा हुन त्यति नै गाह्रो हुन्छ। बजारमा सधैँ खाँचो एउटै हुनेछ, त्यो हो भोलि के हुन्छ भनेर ठोकुवा गर्नेको।’ 

भट्टराईको विचारमा सहमत हुँदै रामबहादुर डंगोल लेख्छन्, ‘यो संसारमा कुनै चिजको भर छैन, त्यो पनि सेयर बजार एकैछिनमा तलतिर अनि माथितिर गुटुङटुङ दौडिनेको के भर छ र हजुर ? केवल डर छ कति कमाउने भनेर अनि कति गुमाउने  ?’  

सामाजिक सञ्जालमै धु्रव देवकोटा लेख्छन्, ‘लगानीकर्ताको चाप बैंकतिर बढेको छ, अब अलि–अलि करेक्सन हुँदै बजार २९०० माथि नै रहन्छ।’ 

अर्का लगानीकर्ता सरोजकुमार ढकाल लेख्छन्, ‘अब अलिक सतर्क भएर लगानी गर्नुपर्ने अवस्था सिर्जना भएको छ। नेप्से इन्डेक्स ३००० पुगेर केही समय करेक्सनमा जानेछ। त्यो बेलामा सेयर खरिद गर्नका लागि एउटा राम्रो अबसर आउनेछ।’  

त्यसैगरी रामशरण अधिकारीले लेख्छन्, ‘बैंकिङ इन्डेक्सको ठूलो अवरोध मानिएको १९३० को विन्दुभन्दा माथि अडेर आजको कारोबार बन्द भएकोले आशा गरौँ, अबको बजारलाई बैंकिङ सेक्टरले डोर्याउनेछ।’

अधिकारीको मतमा सहमत हुँदै मनिष कट्वाल लेख्छन्, ‘बैंकिङ इन्डेक्स १९३० माथि रहेकोले अब बैंक बढ्ने नै संकेत हो।’

सामाजिक सञ्जालमै विशाल कडरिया व्यंग्य गर्दै लेख्छन्, ‘४० खर्बको मार्केट चलाउने ५० वटा ब्रोकरको जम्मा पुँजी १ अर्ब, योभन्दा हाँसो उठ्ने कुरा के हुन सक्छ मित्र ? बजार बढेको बेला बजार सुधारका कुरा खाई ?’

कडरियाको विचारमा सहमत हुँदै लोकसेवा नेपाली नाम गरेका लगानीकर्ता लेख्छन्, ‘बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्छ, अब पहल गरौँ।’  

वाणिज्य बैंककै विषयमा गोकुलप्रसाद डंगोल लेख्छन्, ‘कमर्सियल बैंकको यात्रा न्यूनतम ५५० देखि ६०० सम्म हुन्छ, केही बेच्दै गर्छन, केही हेरिरहन्छन्। केही महिनापछि बोनसको सिजन सरु हुन्छ। २० प्रतिशत बोनस खाने सेयर ७०० सम्म पुग्छन्। त्यसैले सक्नुहुन्छ भने थप्नुस् नत्र होल्ड गर्नुस्।’