– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सेयर बजारलाई सन्तुलन राख्ने उद्देश्यका साथ कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा अल अर नन् (एओएन) सुविधा हटाउन नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई गत शुक्रबार निर्देशन दिएको थियो। सोही निर्देशनबमोजिम नेप्सेले आज आइतबार टीएमएसमा एओएन सुविधा बिक्री पोस्टमा यथावत राखी खरिद पोस्टबाट हटाएको छ। 

एओएन हटाउने विषयमा समाचार प्रकाशित भएसँगै सामाजिक सञ्जालहरुमा निकै चर्चा चलेको पाइन्छ। धेरैजसो साना र नयाँ लगानीकर्तालाई एओएनका विषयमा अनभिज्ञ थिए। एकाएक नियामक निकायबाट एओएन सुविधा हटाउने निर्देशन दिइएको समाचार सञ्जारमाध्यममा आएपछि सेयर बजारमा हलचल नै मच्चिएको छ। 

केही लगानीकर्ताले राम्रो काम भन्दै नियामक निकायको प्रसंशा गरेका छन्। कतिपयले भने यो निर्णय केही परिमार्जनसहित लागू गरेमा राम्रै हुने बताएका छन्। 

सामाजिक सञ्जालमा राजकुमार खड्काले लेख्छन्, ‘एओन हटाएको राम्रो हो। तर आफूले किन्न चाहेको र बेच्न चाहेको सेयर पूरा पाउनुपर्यो, खातामा अडलट बाँकी रहने सिस्टम हुन भएन। १० कित्ताभन्दा कमको पनि कारोबार हुनुपर्यो।’ 

सामाजिक सञ्जालमै सुमनकुमार बोहोर लेख्छन्, ‘कसैले गल्ती गरेको छ भने कारबाही गर्नुपर्यो, एओन फिचर नै हटाउन भने भएन। हातमा घाउ भयो भनेर हात्तै काटेर फाल्नु त भएन नि।’ 

बोहोराको पोस्टमा जबाफ दिँदै अर्जुन सर नाम गरेका लगानीकर्ता भन्छन्, ‘यो निको नहुने घाउ भएकोले काटेर फालेकै जाती !’ 

त्यसैगरी उत्तम श्रेष्ठ ‘सेयर कारोबारमा सानालाई मात्रै लिमिट हो, ठूलालाई पैसा जम्मा नभए पनि जति चाहिए पनि लिमिट दिने गरेको देखियो’ भनेर लेख्छन्। उनी अगाडि लेख्छन्, ‘सेयर बजारमा नि मिलेमतो त हुन्छ नै जता पनि सानालाई चैन, ठूलालाई ऐन त हो नि !’

सामाजिक सञ्जालमा व्यंग्य गर्दै राजु श्रेष्ठ लेख्छन्, ‘लाइफमा झन्डुमारा कम्पनी बेचेर क्रिम क्रिम कम्पनी किनेर ठूलै गल्ती गरियोजस्तो लागेको छ।’ 

श्रेष्ठलाई जबाफ दिँदै उज्वल श्रेष्ठ लेख्छन्, ‘हाललाई देखिएको मात्रै त्यस्तो हो तर एक दिन अवश्य क्रिम कम्पनीकै जित हुन्छ, ढुक्क हुनुस्।’ 

अर्का लगानीकर्ता हरियाली कान्छाले लेखेका छन्, ‘सेयर बजार अत्यन्त जोखिम र अवसरको क्षेत्र पनि हो। त्यसैले अधिक ऋण लिएर लगानी पनि नगर्नुस्। आफ्नो पैसा हो भने जतिसुकै घटोस् राम्रा कम्पनीका सेयर किनेर होल्ड गर्नुहोस्।’ 

हरियाली कान्छालाई जबाफ दिँदै चूणमणि घिमिरे लख्छन्, ‘सेयर बजारमा मार्केट टे«न्डअनुसार हिँड्नेले नै जित्ने रहेछ। वाणिज्य बैंकको राजा नबिल बेचेर विकास बैंकको राजा मुक्तिनाथ किन्ने पनि देखियो। अब भोलि एक कित्ता मुक्तिनाथको सेयर बेचेर र एक कित्ता नबिलको सेयर आउँछ। यस्तो अवसर कसले गुमाउँछ र ?’