– अर्जुन तिमिल्सिना

काठमाण्डौ । लगातार बढेको सेयर बजारमा साताको पहिलो कारोबार दिन आइतबार करेक्सन आयो। योसँगै सामाजिक सञ्जालमार्फत लगानीकर्ताहरुले बजारका लयका विषयमा आ–आफ्ना विचार राखेका छन्। 

केही लगानीकर्ता बजारको आजको घटाइलाई सामान्य र प्राकृतिक करेक्सनका रुपमा लिनुपर्ने बताउँछन्। केही दिनमै बजार फेरि लयमा फर्किने उनीहरुको भनाइ छ। 

केही लगानीकर्ता भने प्राविधिक पक्षको तर्क गर्दैै बजार लामो समय बढेकोले करेक्सनको अवस्था अझै नपुगेको तर्क गर्छन्। कोही भन्छन्, ‘दीर्घकालीन सोचका साथ लगानी गर्ने अवसर यही हो।’

लगानीकर्ता अम्बिकाप्रसाद पौडेल सामाजिक सञ्जालमा लेख्छन्, ‘धैरै कम लगानीकर्ताले मात्र अवसरको सदुपयोग गर्ने गर्छन्, घटिरहेको नप्सेमा।’ 

पौडेललाई जबाफ दिँदै प्रतिम किसान नाम गरेका लगानीकर्ता  लेख्छन्, ‘सेयर बाजारमा धेरै ठूला लगानीकर्ता अरुलाई आश देखाएर आफू चाहिँ कुलेलाम ठोक्ने चलन पनि छ। तर आदरणीय दाइलाई त्यो क्याटागोरीमा राख्न सकिँदैन। राम्रो स्ट्याटस आयो, अलि शीतल मन भयो।’ 

पौडेलकै स्ट्यासमा शिशिर तामाङ लेख्छन्, ‘हिजोआजको घटाइले बजार परिपक्क भएको आभाष भएको छ। मैले आवेगमा आएर जानेर तथा नजानेर धेरै गल्ती गरेँ तर अहिले संयमित हुन सिकेर खुसी भएको छु।’

सामाजिक सञ्जालमै अमेरिकी कम्पनी गेम स्टपको उदाहरण दिँदै अर्का लगानीकर्ता दिलिप मुनाकर्मी लेख्छन्, ‘सेयर बजारमा जोखिम यस्तै हुने गर्छ, आजको बजारले आत्तिनभन्दा पनि रणनीति र जोखिम बहन गर्नसक्ने क्षमताको पुनरावोलकन गर्न झस्काएको हो कि ?’
मुनाकर्मीलाई जबाफ दिँदै नवराज गिरी लेख्छन्, ‘सेयर बजारमा घट्बढ सामान्य र बजारको सुन्दरता नै हो।’ 

सामाजिक सञ्जालमा रितु अधिकारी लेख्छिन्, ‘योभन्दा पहिले पनि सेबोनको विज्ञप्तिले बजार घटेको थियो, यसपटक पनि त्यस्तै भएको देखिन्छ।’ 

अधिकारीको विचारलाई समर्थन गर्दै किशोर न्यौपने लेख्छन्, ‘हो, मलाई याद छ, पहिला पनि सेबोनको नोटिस आएपछि बजार घटेको थियो। बजारमा अहिले पनि त्यस्तै हुन बेर छैन।’ 

प्रकाश निरौला सामाजिक सञ्जालमा लेख्छन्, ‘लगानीकर्तामा बजारप्रति विश्वास गुमेको छ। अब पहिलाजस्तो बजारमा साँढे कुद्ने अवस्था छैन। छिट्टै सम्बन्धित निकायले सम्बोधन नगरे बजार अझ तल जाने सम्भावना छ।’

त्यसैगरी सामाजिक सञ्जालमै भ्याल्यू इन्भेस्टरको नाममा लेखिएको छ, ‘नआत्तिनुस् मित्रहरु, यो करेक्सनमात्रै हो।’

सामाजक सञ्जालमै लगानीकर्ता रोहन कार्की लेख्छन्, ‘हल्लाको पछाडि नलागी घटिरहेको बजारमा किन्ने अवसरको सदुपयोग गरौँ। हरियोमा किन्ने अनि रातोमा बेच्ने भए सेयर बजार तपाइँका लागि होइन। बुलिस बजारमा हरेक करेक्सन किन्ने अवसर हुन्छ। चौथो त्रैमासको रिर्पोट र लाभांशको सिजनसमेतलाई ध्यान दिएर राम्रा कम्पनीका सेयर किन्ने समय हो। पक्कै पनि बजार हामीले सोचेभन्दा पनि निकै माथि जानेछ।’