– अर्जुन तिमिल्सिना

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार बजार सकारात्मक भएर बन्द भयो। दिनभरको उतारचढावबीच बजार आज सकारात्मक भएर बन्द हुनुमा लगानीकर्ताले आ–आफ्नै तर्क पेस छन्। 

आज बैंकिङ सेक्टरमा ३८ अंकको बढोत्तरी भएको छ। योसँगै अब बैंकमा उछाल आउनेमा लगानीकर्ता आशावादी देखिन्छन्। 

केही लगानीकर्ता भने सामान्यतया साताको पहिलो दिन सेयर बजारमा रौनक आउनुलाई सामान्य रुपमा लिनुपर्ने तर्क गर्छन्। यसअघि पनि पटक–पटक बैंकिङ सेक्टरमा बढोत्तरी भए पनि दिगो हुन नसकेको भन्दै कति लगानीकर्ता आजको मात्रै बढाइबाट ढुक्क हुन सक्ने अवस्था नरहेको बताउँछन्। 

केही लगानीकर्ता भने बैंकिङ सेक्टर यसरी नै माथि जाने भएकोले विस्तारै–विस्तारै थोरै–थोरै सेयर खरिद गर्दै जानुपर्ने तर्क गर्छन्। सामाजिक सञ्जालमा सुरज खड्का सोध्छन्, ‘के बैंकमा बुल सुरु हुन लागेकै हो त ?’

खड्कालाई जबाफ दिँदै बाबुराम सोती लेख्छन्, ‘बैंकमा बुल त आइसक्यो २०० को बैंक ४०० भयो, ७०० को १४०० भयो। हाइड्रोमा जस्तो ५० को ३०० बैंकमा हुँदैन।’  

सामाजिक सञ्जालमै सञ्जीव स्वरुप लेख्छन्, ‘एकैचोटि सबैमा सर्किट लगाउन सम्भव नभएर अब पालैपालो एक–एक गरी सर्किट लगाएर बैंक बढ्ने देखिन्छ।’ 

बजार जानकार अम्बिका पौडेल लेख्छन्, ‘यो बुलमा नेप्से ४२०० सम्म पुग्न सक्छ तर क्लाइमेक्समा किन्नेहरु फस्छन्।’

पौडेललाई जबाफ दिँदै सहदेव रायमाजी लेख्छन्, ‘यहाँको विचार, अनुभव र कन्फिडेन्स अतुलनीय छ। यहाँहरुजस्ताले बजार घट्बढ हुँदा डबल स्ट्यान्डर्ड लिनुभएन, धेरैले यहाँलाई विश्वास गर्छन्, नरिसाउनुस् कि कोही–कोहीको मुखबाट यो पनि सुनियो कि अम्बिका सरले जे भन्छन् ठिक उल्टो गर्छन्।’ 

पौडेलकै स्ट्याटसमा यामलाल भट्टराई पौडल लेख्छन्, ‘जति–जति बेला बजारमा अन्यौलता हुन्छ, त्यो समयमा यहाँले हामीलाई आत्मविश्वास बलियो बनाउने अनि महत्वपूर्ण अन्तर्वार्ता दिनुहुन्छ, यस्ता अन्तर्वार्ता सुनेर तथा हेरेर लाखौँ लगानीकर्ता पुँजी बजारप्रति बिश्वस्त हुन्छछन्। र, त्यो विश्वास कायमै राख्नुहुनेछ भन्ने हाम्रो पनि विश्वास छ।’

क्लबहाउसमा एक लगानीकर्ताले विभिन्न संघसंस्था र सरोकारवालाहरुलाई भन्छन्, ‘ ब्रोकरहरुको सेवासुविधा निकै खस्किएको छ। विदेशमा बसेर लगानी गर्नेलाई निकै कठिन भएको छ। लगनीकर्ताका नेताहरुले के गर्नुभएको छ ?’

ती लगानीकर्तालाई जबाफ दिँदै अर्का एक लगानीकर्ता भन्छन्, ‘लगानीकर्ताका संघसंगठनले खासै आमलगानीकर्ताको समस्यामा ध्यान दिएको पाइँदैन, केबल वक्तव्यबाजीबाहेक तर पनि हामीले ब्रोकरहरुसँग भन्दा पनि सिस्टमसँग लड्नुपर्छ। सेयर बजारमा एउटा राम्रो परिपाटीको विकास गर्नसके अहिलेका समस्या आफैँ समाधान हुन्छन्।’

क्लबहाउसमै अर्का एक लगानीकर्ता भन्छन्, ‘यो बजारमा कोही पनि कसैलाई भलो गर्न नआएको र सबैको उद्देश्य व्यापार भएकोले हामी एक–आपसमा प्रतिस्पर्धी पनि हौँ। आ–आफ्नो व्यापार रणनीति छ, क्लाब हाउसमा आएर मुख दुखाउनु वस्तावमा समयको बर्बादमात्रै हो।’