– अर्जुन तिमिल्सिना

काठमाण्डौ । गत साता अर्थ समितिमा मौद्रिक नीतिको विषयमा व्यापक छलफल भयो। खासगरी छलफलमा पूर्वअर्थमन्त्रीहरुबीच भएको बहसले सामाजिक सञ्जालदेखि मिडियामा राम्रै स्थान पाएको छ। 

छलफलमा पूर्वअर्थमन्त्री बाबुराम भट्टराई, सुरेन्द्र पाण्डेलगायतको सहभागिता थियो। नेपालको पुँजी बजारमा लगानीकर्ताले बाबुराम भट्टराईको आवाज र धुरीमाथि काराएको कागको आवज उस्तै–उस्तै मान्छन्। किनकि कुनै बेला उनको एक बोलीले १२७५ विन्दुमा रहेको सेयर बजार २९२ विन्दुसम्म झरेको थियो। 

छलफलमा भट्टराईले बैंकको नाफा बढी भयो भन्ने थियो भने पाण्डेले लगानी गरेर राज्यलाई कर तिरेर कमाएकोले धेरै भन्न नमिल्ने भन्दै बैंक तथा लगानीकर्ताको पक्षमा बोलेका थिए। 

सामाजिक सञ्जालमा धेरै लगानकर्ताले भट्टराईको चर्को आलोचना गरेका छन्। यसै विषयमा पुस्कर लामिछानेले लेखेका छन्, ‘बैंकहरुले खर्बौं लगानी गरेर केही अर्ब कमाएका हुन्, तपाइँजस्तो विद्वानले कुनै पनि विषयमा बोल्दा यति हल्क रुपले लिनुभन्दा विचार गरेर बोल्ने हो कि ? तपाइँले आजभन्दा पहिला सरकारी बैंकको जस्तै अहिलेका बैंकको अवस्था चाहनु भएको हो ?’ 

लामिछानेलाई समर्थन गर्दै बाबुकाजी श्रेष्ठ लेख्छन्, ‘ नाफा नगरेर के घाटा हुनलाई कम्पनी खोल्ने हो र ? कि अझै नाफामा भएका कम्पनी पनि घाटामा पार्ने विचार छ ? राज्यलाई कर तिरेर कमाएको पनि देखिनसक्ने ?’ 

यस विषयमा सावित्री घिमिरे लेख्छिन्, ‘बाबुरामजी तपाइँ अर्थमन्त्री हुँदाको समयमा २०६७ सालमा सिटिजन्स बैंकमा लगाएको लगानी अहिले २०७८ सम्म पनि नाफामा छैन। एक–दुई बैंकले नाफा कमाए भनेर हुन्छ र ?’ 

मिनारजंग कार्की लेख्छन्, ‘तपाइँहरुजस्ता केही काम नगरी अर्बौं नाफा खाएको विषयमा जनाताले बारम्बार प्रश्न उठाउँदा पनि हिसाब दिनु नपर्ने, बैंकहरुले पारदर्शी रुपले हजारौँलाई रोजगार दिएर १२–१५ प्रतिशत नाफा खाँदा टाउको दुख्ने ?’ 

सामाजिक सञ्जालमै भट्टराईकोे भनाइलाई समर्थन गर्दै खगेन थापाले लेखेका छन्, ‘नेताज्यूबाट सही कुरा आएको छ। बैंकले व्यापार गर्नेसँग बढी ब्याज लिएको छ। घर बनाउन र कार किन्न सस्तो ब्याजमा पैसा दिएको छ। त्यो गलत हो। १० प्रतिशतमा लिएको ब्याज १५ प्रतिशत पुर्याउँछन्। मूल समस्या यही हो। उहाँले सानो व्यापारीका लागि बोल्नुभएको हो।’

लामो समय प्रतीक्षा गर्दा पनि मौद्रिक नीति नआएकोमा सामाजिक सञ्जालमै दीननाथ शर्मा लेख्छन्, ‘यसपालिको मौद्रिक नीति सरकारले बडादसैँतिर ल्याउने रहेछ कि कसो ? कुर्दाकुर्दै अत्याश लाग्यो।’

शर्मालाई व्यंग्य गर्दै रोहन सुवेदी लेख्छन्, ‘राष्ट्र बैंकमा वीरबलको खिचडी पाक्दैछ लगानीकर्ता धैर्यसँग बस्नु।’