– अर्जुन तिमिल्सिना

काठमाण्डौ । देशमा मौसम र कोरोनाभइरसले साथ नदिए पनि सेयर बजारले भने अहिलेसम्म साथ दिइरहेको छ। 

लगातार ३ दिनको सार्वजनिक बिदाले अहिले सेयर लगानीकर्ता फुर्सदमा छन्। लामो बिदाको मौका छोपी कतिपय लगानीकर्ता तथा ब्रोकर राजधानीबाहिर घुम्न निस्केका पनि छन्। कसैले पोखराको सराङकोटमा जिपफ्लाइङ तथा बन्जी जम्प गरेका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। कतिपयले नगरकोटमा बिदा मनाइरहेको तस्बिर सामाजिक सञ्जालमा हालेका छन्। 

निरन्तर बढेको सेयर बजारमा ब्रोकरदेखि लगानीकर्तासम्म मनग्य कमाएर प्रफुल्लित देखिन्छन्। ब्रोकर नम्बर २६  एसियन सेक्युरिटिज बुटवल शाखाका सञ्चालक दीननाथ शर्माले सामाजिक सञ्जालमा लेखका छन्, ‘३ दिनको बिदाले ठूलो राहात मिलेको छ, नत्र ब्रोकर हाउसमा दिनभर बजेको फोनको घन्टी राती निद्रामा पनि झसंग बनाउँथ्यो।’ 

सामाजिक सञ्जालमै एक ठूला लगानीकर्ताले नामै तोकेर केही कम्पनीका सेयर किन्न भनेपछि धेरै साना लगानीकर्ताले विरोध गरेका छन्। सक्रिय लगानीकर्ता रोहन कार्कीले लेख्छन्, ‘आफ्नो लगानीमात्र ठिक अरुको गलत देख्ने, खातामा पैसा टन्न भएर घमण्डले फुलेका अरुलाई मान्छे नै नगन्ने, पछिल्लो परिवर्तित बजारको अध्ययन नगर्ने, सधँै आफ्ना जमनाका पुराना कथामात्रै भुत्भुताउने माफियाशैलीमा आफ्नो कम्पनीमात्रै विज्ञापन गर्नेलाई बहिष्कार गरौँ। अहिले बजारमा डराउनुपर्ने कारण छैन।’

सामाजिक सञ्जालमै ‘सेयर ज्ञान’ नामबाट लेखिएको छ, ‘यो २०५० साल होइन, २–४ जनाले भन्दैमा बजार तलमाथि हुने। बजार अहिले उच्च विन्दुमा छ। कसैले चाहँदैमा बजार घट्दैन। तर, बजारमा घट्बढ सामान्य हो।’

विन्दास नाम गरेका एक लगानीकर्ता सामाजिक सञ्जालमा लेख्छन्, ‘यदि तपाइँसँग औसत ६ प्रतिशतजति घाटा सहन सक्ने क्षमता छ भने हाइड्रो होल्ड गर्नुहोस्। यदि बेचेर निस्कन चाहनुहुन्छ भने तपाइँको सम्पत्तिको अधिकार र नाफा–घाटाको जिम्मेवार तपाइँ आफैँ हुनुपर्छ। ट्रेड गर्नका लागि सपोर्टभन्दा तल झरेमा स्टप लस गर्ने र माथि जाने संकेत गरेमा पस्ने गर्ने हो। के गर्ने भन्ने तपाइँको विचार हो।’ 
सामाजिक सञ्जालमै ‘सक्रिय लगानीकर्ता’ नामक एक लगानीकर्ता लेख्छन्, ‘बैंक नबढेको पीडा काका र निर्मल प्रधानको मुखबाट प्रस्ट सुन्न पाइयो, अहिले बजार पहिलेजस्तो मुठ्ठीभरका व्यक्तिको हातमा छैन। बजार धेरै विश्वासिलो भइसक्यो।’