काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा खुद नाफामा ५६.९६ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा २ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाले १ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाले अघिल्लो वर्षको तुलनामा खुद नाफामा ८८ लाख ६९ हजार रुपैयाँ बढी कमाउन सफल भएको हो ।

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी ७ करोड ५३ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्ष ६ करोड ३२ लाख रुपैयाँमा सीमित थियो । यसले संस्थाको व्यवसाय विस्तारले गति लिएको देखाउँछ ।

संस्थाको सञ्चालन मुनाफा ३ करोड ८४ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा २ करोड १० लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि ५१ लाख ३७ हजार रुपैयाँ छुट्याएको छ । यो अघिल्लो वर्ष २२ लाख ३४ हजार रुपैयाँ थियो ।

यस अवधिमा संस्थाले ४४ करोड ७६ लाख रुपैयाँ सापटी लिई ९१ करोड २१ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष संस्थाले यही अवधिमा ३९ करोड ६० लाख रुपैयाँ सापटी लिई ७१ लाख ९० लाख रुपैयाँ ऋण प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष पनि संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ नै थियो ।

संस्थाले जगेडा कोषमा अघिल्लो वर्षको तुलनामा १५.८३ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष ४ करोड ७८ लाख रुपैयाँको रहेको संस्थाको जगेडा कोषको आकार समीक्षा अवधिमा बढेर ५ करोड ५४ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको प्रतिसेयर आम्दानी २४.४४ रुपैयाँ रहेको छ । संस्थाको मूल्य आम्दानी अनुपात २१.७७ गुणा र प्रतिसेयर नेटवर्थ १५५.४४ रुपैयाँ रहेको छ ।