काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि वितरण गरेको २० प्रतिशत बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको छ। 

कम्पनीले आज एक सूचना जारी गर्दै गत कात्तिक १६ गते सम्पन्न ५४ औँ वार्षिक साधारणसभाबाट पारित भएको २० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज र सीडीएस एन्ड क्लियरिङमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको जानकारी गराएको हो। 

यसका साथै गत कात्तिक १ गतेसम्म सेयर अभौतिकीकरण गराएका कम्पनीका सेयरधनीहरुको बोनस सेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ।

उक्त मितिपश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा क्रमशः उक्त बोनस सेयर जम्मा हुने व्यवस्था गरिएको हुँदा हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरुले आफ्नो सेयर अभौतिकीकरण गराई आफ्नो बोनस सेयरसमेत हितग्राही खातामा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। 

गत कात्तिक १ गतेसम्म सेयर धितो बन्धक राखी कर्जा लिएका सेयरधनीहरुको हकमा बोनस सेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाई सेयरधनीको हितग्राही खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न पनि कम्पनी सेयरधनीहरुलाई आग्रह गरेको छ। सो मितिपश्चात रोक्का राखिएका सेयरधनीहरुको बोनस सेयर सेयरधनीको हितग्राही खातामा रोक्का नजनाई जम्मा हुने हुँदा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफू कहाँ ती सेयरधनीहरुको सेयर रोक्कामा रहे नरहेको यकिन गरी रोक्का राख्नुपर्ने भए बोनस सेयरसमेत रोक्कामा राख्नेतर्फ आवश्यक पहल गर्न पनि कम्पनीले आग्रह गरेको छ।