काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साल्ट ट्रेडिङ कर्पोरेसनमाथि कारबाही गर्दै सेयर कारोबार रोक्का गरेको छ। 

नेप्सेको आजको निर्णयबाट साल्ट ट्रेडिङको सेयर कारोबार रोक्का गरिएको हो। 

साल्ट ट्रेडिङको आज बिहान ८ः३० बजेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको थियो। तर, लाभांश प्रस्तावसम्बन्धी जानकारी कम्पनीले कारोबार समयमा बिहान ११ः१३ बजे नट्समार्फत नेप्सेमा पठाएको थियो। 

धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णयहरु भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि पठाउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाविपरीत लाभांश प्रस्तावसम्बन्धी सूचना पठाएकोले नेप्सेले साल्ट ट्रेडिङको सेयर कारोबार रोक्का गरेको हो। 

नेप्सेले यस विषयमा साल्ट ट्रेडिङलाई तीन कार्यदिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिएको छ। 

कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश छन्।